सहमतिबाट संविधान ल्याउन एमाले काङ्रेस सहमत

फागुन २९ ।भक्तपुर, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताबीच संविधान सभाबारेमा छलफल भएको छ ।एमालेका अध्यक्ष केपी ओली निवास बालकोटमा आज भएको दुई दलका शीर्ष नेताको छलफलमा सकेसम्म सहमतिका आधारमा संविधान ल्याउन पहल गर्ने सहमति भएको छ ।

सङ्घीयताको सङ्ख्या र नामकरणबारेमा दुई दलबीच सहमति हुन नसके पनि सकेसम्म छिट्टै संविधान जारी गर्ने विषयमा सैद्धान्तिक सहमति भएको छ ।छलफलमा एमालेले छ प्रदेश र एमाओवादीले नौ प्रदेशको प्रस्ताव राखेको एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेलले जानकारी दिनुभयो ।बैठकमा सहभागी एमाओवादीका महासचिव कृष्णबहादुर महराले सहमतिमा चाँडो संविधान ल्याउनुपर्छ भन्नेमा सैद्धान्तिक छलफल भएको जानकारी दिनुभयो । उहाँले सङ्घीयताजस्ता गहन विषयमा कोठामा बसेर छलफल वा सहमति गर्नुभन्दा जनताले के भन्छन् भन्नेतर्फ ध्यान दिनुपर्ने, मुलुकको राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा खलल आउन नदिने गरी निर्णयमा पुग्नुपर्नेमा जोड दिइएको बताउनुभयो ।नेपाली काँग्रेससहित चार प्रमुख शक्तिको शनिबार हुने औपचारिक वार्ताका लागि दुई दलबीच छलफल भएको हो । यसअघि बिहीबार काँग्रेस–एमाले तथा काँग्रेस–एमाओवादीका नेताबीच अलगअलग वार्ता भएको थियो ।गत माघ ८ गतेभित्र संविधान ल्याउने संविधानसभाको कार्यतालिका प्रभावित भएपछि दलहरूबीच सहमति वा प्रक्रियाबाट नयाँ संविधान भन्ने विवाद र संवादहीनतालाई तोड्दै गत साताबाट वार्ताका शृङ्खला प्रारम्भ भएको हो ।

सम्बन्धित शिर्षकहरु