काठमाडौं । शान्ति मिसनका लागि पठाउन लागिएका नेपाली सेनाको टोलीलाई स्वास्थ्य परीक्षण गरेर क्वारेन्टिनमा राखिएको छ ।
शान्ति मिसनका लागि पठाइन लागिएका एक हजार एक सय छब्बीस नेपाली सेनालाई मिसनमा जाने टोलीको स्वास्थ्य परीक्षणपछि सबैलाई आइतबार क्वारेन्टिनमा पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गतको रोटेसनअनुसार सेनाले सुडान, माली, कार र लिबियामा आफ्ना १ हजार १ सय २६ सैनिकलाई पठाउने अन्तिम तयारी गरेको हो ।
यस अघि मिसनका गएकाहरु कोरोना भाइरस महामारीका कारण स्वदेश फर्किन पाइरहेका छैनन । यताको टोली पुगेपछि मात्र उनीहरु फिर्ता हुने सेनाले जनाएको छ । जुलाई १ तारिखमा एउटा समूह दक्षिण सुडान प्रस्थान गर्नेछ । यस्तै, ५ तारिखमा अर्को समूह कार प्रस्थान गर्नेछ । यस्तै, ७ तारिखमा माली र १५ तारिखमा लिबिया गरी दुई समूह जानेछन् ।
मिसनका लागि दक्षिण सुडानमा ७ सय, कारमा ५८, मालीमा १ सय ३८ र लिबियामा २ सय ३० सैनिक जाने सेनाले जनाएको हो ।








