पुस १० । येशु ख्रिष्टको जन्मोत्सवका उपलक्षमा विश्वभर क्रिसमस मनाइरहेका बेला नेपालमा पनि क्रिस्चियनहरुले विभिन्न कार्यक्रम गरी मनाइरहेका छन ।
इसाई धर्मावलम्बीको पवित्र शास्त्र बाइबल अनुसार पवित्र आत्माद्वारा गर्वधारणा भएर कन्या (मारियम) को कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग हुन लागेको समयमा स्वर्गदूतले मानव समुदायको कल्याणका लागि संसारमा येशूले जन्म लिन लागेको भविष्यवाणी गरेका थिए । सोही अनुरुप येशू ख्रिष्टको जन्म भएको गरेको विश्वास गरिन्छ ।
मानिसमाथि दुष्ट आत्माले अदृष्य गरिरहेको अन्याय, अत्याचार तथा विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रुसमा बलिदान हुनु भएको बाइबलमा उल्लेख छ । प्रभु येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँकै सम्झनामा इस्वी संवत् प्रारम्भ भएको विश्वास गरिन्छ ।
विशेषगरी दुःखी, गरिब, असहाय र उत्पीडित वर्गलाई सामाजिक रूपमा सशक्त बनाउन मानव समुदायलाई शिक्षा तथा सन्देश दिनुभएका येशुको जीवनको त्याग सम्पूर्ण मानिसका लागि प्रेरणा बन्न सक्ने इसाई धर्मावलम्बीहरू बताउँछन् ।
राष्ट्रिय क्रिश्चियन महासङ्घ नेपालका महासचिव सिवी गहतराजका अनुसार नेपालमा क्रिश्चियन धर्मको ४०० वर्षदेखिको इतिहास रहेकामा २०६२\६३ को आन्दोलनपछि धर्मनिरपेक्ष राष्ट्र बनेसँगै यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउन थालिएको छ ।
राष्ट्रिय क्रिश्चियन महासंघ नेपालका वरिष्ट सल्लाहकार एवं नेपाल राष्टिय मण्डली परिषदका महासचिव डा केबी रोकायाले क्रिसमसको खास अर्थ सबै मानिस पापी नै हुन्छन् । ती पापी मानिसहरुको आत्मा र शरिरलाई उद्दार गर्न परमेश्वरले आफ्नो एक मात्र पुत्र प्रभु येशूख्रिष्टलाई मानिसको रुपमा संसारमा पठाउनु भएको भन्ने रहेको बताए । उनले भने,”बाइबल धर्मशास्त्र अनुसार पापले गर्दा मानिस परमेश्वरबाट अलग्गिन पुगेको थियो र मानिस परमेश्वरकँहा पुग्न सक्दैनथ्यो, परमेश्वर र मानिसका रुपमा उभिएको पापको पर्खाललाई भत्काएर मानिसलाई परमेश्वरसँग मेलमिलाप गराउनका लागि येशूख्रिष्ट संसारमा आउनु भएको हो, यही सम्झना स्वरुप हामी क्रिस्मस मनाउछौ ।
येशूको जन्मको बारेमा बाइबलको पुस्तक लुका २ अध्यायको ८ देखि ११ पद सम्म यस्तो लेखिएको छ (त्यही इलाकामा गोठालाहरु थिए, जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे । प्रभुका एउटा श्वर्गदुत तिनिहरुकहाँ देखापरे र प्रभुको तेज तिनको वरिपरि चम्क्यो, अनि तिनीहरु साह्रै डराए । तब श्वर्गदुतले तिनीहरुलाई भने, ‘नडराओ’ किनभने हेर म तिमिहरुलाई बडो आनन्दका सुसमाचार सुनाउछु जो सबै मानिसहरुको निम्ति हुनेछ । आज दाउदको शहरमा तिमीहरुका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रिष्ट प्रभु हुनुहुन्छ । )
क्रिसमस येशूको जन्मको सम्झना गर्ने विशेष दिन हो । यसलाई देश तथा विदेशमा भव्य रूपमा मनाइने गरिन्छ । प्रत्येक वर्ष डिसेम्बर २५ मा इसाई धर्मावलम्बीले शुद्ध हृदयदेखि नै येशुको प्रशंसा तथा प्रार्थना गरी अङ्गुरको झोल पिउने र केक काट्ने परम्परा छ ।
आजका दिन इसाई धर्मावलम्बीले येशुको सम्झना गर्दै गिर्जाघरमा एकचित्त भएर भोज खाने तथा मनोरञ्जन गर्ने गर्छन् ।
सानाका लागि सेतो दाह्रीवाल सन्त क्लजले उपहारमा चकलेट क्यान्डी खेलौना र किताब बाँड्छन् । हरेक वर्षको डिसेम्बर २५ मा यो पर्व मनाइन्छ । अमेरिका बेलायत युरोपका देश रसियामा यस दिन बिदा हुन्छ । नेपालमा पनि केही वर्षयता बिदा दिन थालिएको छ ।
विश्वमा ६८ प्रतिशत जनसंख्यामध्ये २ अर्ब १० करोड मानिसले यो पर्व मनाउँछन् । यो पर्व मनाउने सबै क्रिस्चियन हुन् । तर आजभोलि अन्य धर्म मान्नेले पनि मनाउँछन् । धार्मिक सहिष्णुता बढ्दै गएकाले पनि यस्तो भएको हो ।
देखासिकीले यसको उमंग विश्वभरि नै छाएपछि आजभोलि गैर क्रिस्चियनले पनि यो पर्व मनाउन थालेका हुन् । पर्व सुरु हुनुभन्दा एक हप्ता अघिदेखि नै पसल सपिङ मलमा हामी सन्त क्लज देख्न सक्छौं ।
रातो कपडा लगाएका सन्त क्लज खुसी देखिन्छन् । यस दिन सन्तलाई गाडीमा राखी सहर घुमाउने गरिन्छ । पश्चिमी देशमा क्रिसमस ट्रि र बत्तीले घर सिँगारिन्छ । कोही भने सामूहिक रुपमा चर्चमै क्रिसमस मनाउँछन् ।
सन्त क्लजको अवधारणा किुमेन्ट क्लार्क मुर नामक लेखकले सन् १८२२ मा लेखेको कविता ‘अ भिजिट बाइ सेन्ट निकोलोस’ बाट सुरु भएको मानिन्छ । जर्मन अमेरिकन कार्टुनिस्ट थोमस नास्टले १९८१ मा सन्त क्लजको पूर्ण आकृति दिएका थिए ।
सन्त क्लजको सुरुवात डच निवासी सन्त निकोलसले गरेका हुन् । उनी अमेरिकाको न्यु अम्सटरडममा रहेका बेला पादरी भएका थिए । सानालाई माया गर्ने र दानी भएकाले सबैले मन पराउँथे । आफू पादरी भएकै बेला उनले यो रमाइलो पर्वको थालनी गरे ।







