पुस ६ ।काठमाडौ,रौतहटका सुरेन्द्र ठाकुरको सिङ्गो परिवार नै राजाधानीमा बसेर चोरी पेशा गर्ने गरेको खुलासा भएको छ । प्रहरीका अनुसार नयाँ बानेश्वरको मिलनचोक नजिकै भद्रमार्गमा रहेको पुरानो दुई तले घरमा बसेर ठाकुरको परिवारले चोरी पेशा गर्ने गरेका छन ।
तारा खड्काको यो घर तीन वर्षदेखि रौतहटका ठाकुरले भाडामा लिएका हुन ।
उनीहरुको घरबाट चोरीका दुई गाडी सामान बरामद गरिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी रमेश तामाङले जानकारी दिए ।
उनको परिवार नै चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
चोरीमा संलग्न उनीहरुमध्ये बाबु र जेठा छोरालाई मुद्दा चलाएको, सानोलाई कम उमेरको भएकाले छाडिएको र श्रीमतीलाई तारेखमा राखिएको छ ।
‘परिवारका सबै सदस्यले नै करिब तीन वर्षदेखि चोरी पेसा अपनाउँदै आएका रहेछन्,’ महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी तामाङ भन्छन्,’नुनदेखि सुनसम्म जे पनि जोरी गर्दा रहेछन् ।’
प्रहरीका अनुसार ठाकुर परिवारको वरपर कसैसँग पनि चिनजान छैन् । उनीहरुको गतिविधि शंकास्पद देखिएपछि अनुसन्धान गर्दा परिवार नै चोरीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।








