
एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले वेस्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सबाट खेलिरहेका सन्दीपले बिहीबार जमाइका तल्लावाजविरुद्ध ४ ओभरको स्पेलमा २१ रन खर्चेर २ विकेट लिए।
सन्दीपले एकै ओभरमा दुई विकेट लिएका थिए। छैटौं ओभरको पहिलो बलमा केनर लेविसले सन्दीपलाई छक्का प्रहार गरेपछि दोस्रो बलमा सन्दीपलले उनलाई पवेलिएन फर्काएका थिए। यस्तै लगत्तै त्यसको दुई बलमै आन्द्रे मकार्थीलाई एलबिडब्लु को धरापमा पारेका थिए।
अन्य खेलाडीहरुले राम्रो प्रदर्शन नगर्दा सन्दीपको टोली प्याट्रियट्सले भने हार बेहोरेको छ। जमाइकाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल खडा गरेको थियो। जवाफमा प्याट्रियट्सले ९ विकेट गुमाउँदै १ सय ३१ रनमात्र बनाउन सक्यो।
सन्दीपले प्रतियोगिताको तीन खेलमा ५ विकेट लिइसकेका छन्। यसअघि उनले पहिलो खेलमा गुयना अमेजोन वारियर्सविरुद्ध ४ ओभरमा १२ रनमात्रै खर्चेर दुई तथा दोस्रो खेलमा तिर्नबागो नाइट राइडर्सविरुद्ध ३ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर १ विकेट लिएका थिए।






