काल बन्दै काठका पोल, ७८ सर्वसाधारण र १७ जना प्राविधिकको लियो ज्यान

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–६ मेहबानपुरका दुई युवकको करेन्ट लागेर ज्यान गयो । काठको पोलमा लत्रिएको बिजुलिको तार चुडिएपछि करेन्ट लागेर अरु तीन जना घाइते भए । हाइटेन्सन लाइनको तार चुडिएर घरमा खसेपछि ३४ वर्षीय सुरेश चौधरी र २२ वर्षीय टीकाराम चौधरीको ज्यान लियो । त्यसअघि असार ७ गते पनि यस्तै कारणले रामेछापमा एक वृद्धाको ज्यान लिएको थियो । रामेछापको दोरम्बा गाउँपालिका–५ का ६७ वर्षीय पासाङ लामालाई पनि करेन्टले निल्यो ।

सुनापति गाउँपालिका–१ गुन्सीमा डोको बेच्न गएका लामा घर फर्किन पाएनन् । करेन्टले उतै समायो । कमजोर काठको पोल भाँचिएर बिजुलीको तार भुईमा झरेपछि लामालाई करेन्ट लागेको थियो ।

यी केही पात्र त उदाहरण मात्रै हुन् । यसरी महिनैपिछे ज्यान गुमाइरहेका छन् । ज्यान गुमाउने सर्वसाधारण मात्रै छैनन् प्राधिकरणकै कर्मचारी पनि यसको सिकार भएका छन् । केहि घटना सर्वसाधारणको कमजोरीका कारण भएको पाइपनि पनि धेरैजसोको कारण यीनै काठका पोल हुन् ।

प्राधिकारणको लापरबाहीका कारण ज्यान गुमाउनेले त आर्थिक सहायता पाउँछन् । तर आफ्नै कमजोरीले ज्यान गुमाउनेहरुको भने तथ्याँक समेत छैन ।

प्राधिकरणको तथ्याङ्क अनुसार करेन्ट लागेर हरेक वर्ष सरदर २४ जनाको ज्यान जान्छ । तर करेन्ट लागेर ज्यान गुमाउने सबैको अभिलेख प्राधिकरणसँग छैन । प्रधिकरणको लापहरवाहीका कारण ज्यान गुमाउनेले क्षतिपूर्ति पाउने भएकाले मृत्यु भएका मध्ये थोरैको मात्रै तथ्याङक प्राधिकरणमा उपलब्ध छ ।

२०७१ सालदेखि २०७४ सालसम्म ७८ जना सर्वसाधरणको ज्यान गयो । तर प्राधिकरणकै प्राविधिक पनि करेन्टबाट जोगिन सकेनन् । यहि अवधिमा १७ जना प्राधिकरणका कर्मचारीलाई करेन्टले निल्यो ।

इो संख्या क्षतिपूर्ति पाउनेको हो । आफ्नै कारणले करेन्ट लागेर ज्यान गुमाएकाहरु योभन्दा बढि भए पनि प्राधिकरणसँग तथ्याँक छैन ।
प्राधिकरणको तथ्याङ्कअनुसार २०७१ सालमा १९ जना सर्वसाधरण र २ जना प्राधिकरणका कर्मचारीको ज्यान गएको थियो । २०७२ सालमा २ जना प्राधिकरणका कर्मचारीसहित १७ जनाले ज्यान गुमाए ।

२०७३ सालमा प्राधिकरणका कर्मचारी मात्रै ९ जनाको ज्यान गयो, यो वर्ष १६ जना सर्वसाधरणले करेन्टका कारण ज्यान गुमाएका थिए । २०७४ सालमा ३ कर्मचारीसहित ३१ जनाको करेन्ट लागेर ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ । करेन्ट लागेर अङ्गभंग भएकाहरुको संख्या पनि ठूलै छ ।

कर्मचारीको ज्यान जानुको कारण सेफ्टी उपकरणबिनै लापहरवाही तरिकाले काम गर्ने र काम गर्दागर्दै करेन्ट प्रवाह भएर ज्यान जाने गरेको पाइएको छ ।

प्राधिकरणको लापहरवाहीका कारण करेन्ट लागेर ज्यान गुमाउनेलाई किरया खर्चसहित ५ लाख रुपैयाँ आर्थिक सहायता दिलाउने गरेको छ ।
विद्युत प्राधिकरणको लापरबाहिका कारण सर्वसाधारणको ज्यान गएजस्तै प्राधिकरणका कर्मचारीले भने ग्राहकको लापरबाहीका कारण पनि ज्यान गुमाएका छन् ।

साउन २३ गते पोखरामा बिजुलीको तार फेर्ने क्रममा प्राधिकरणका कर्मचारी ३० वर्षीय शम्शेर परियारको यस्तै कारणले ज्यान गयो ।

ट्रान्समिटरबाट बत्तीको लाइन बन्द गरेर नयाँ तार फेर्नेक्रममा उनलाई करेन्ट लागेको थियो । मर्मत गरिरहेकाबेला अकस्मात आएको करेन्टलाई ब्याक फिड समस्या भनिन्छ । आफूले करेन्ट काटेर पोलमा चढेपनि ग्राहकले बिजुलीको स्विच अफ नगरी चलाएको जेनेरेटलगायत हाई भोल्टेजका विद्युतीय उपकरण चलाउँदा करेन्ट बिजुलीको तारमा प्रवाह भएर ज्यान जाने गरेको छ ।
पोल विस्थापित गर्न प्राधिकरणलाई मन्त्रीको निर्देशन

यो समस्या पछिल्लो समय बढ्दै गएपछि उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणलाई तत्काल काठका पोल विस्थापन गर्न निर्देशन दिएका छन् ।

मन्त्री पुनको निर्देशनपछि देशभरि नै काठका पोल हटाउने अभियान चलाइरहेको प्राधिकरणको दाबी छ । देशभरी करिव २ लाखजति काठका पोल रहेको प्राधिकरणको अनुमान छ । अहिले काठका पोलको गणना भैरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले २०६९ सालदेखि काठका पोल खरिद नगरे पनि स्थानीयले समेत आफूखुसी प्रयोग गर्ने गरेका छन् ।

सम्बन्धित शिर्षकहरु