अढाई वर्ष बित्दा पनि कांग्रेस केन्द्रीय समिति अपूर्ण

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित भएको २७ महिनापछि केन्द्रीय समितिलाई लगभग पूर्णता दिएका छन् । देउवाले बिहीबार तीन सदस्य मनोनीत गरेका छन् । विधानअनुसार २१ केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेमा अब एक सदस्य मात्र बाँकी छन् । सभापति देउवाले धारा २१ (ठ) अनुसार कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य भएका महाधिवेशन प्रतिनिधिमध्येबाट मनोनीत गर्नुपर्ने १६ सदस्यमध्येबाटै देउवाले तीन केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । मनोनीत गरिएका सदस्यमा लमजुङका दिलबहादुर घर्ती, काभ्रेका शिव हुमागाईं र दाङकी शिला शर्मा खड्का छन् ।

कांग्रेसको विधानअनुसार ६४ केन्द्रीय सदस्य निर्वाचित हुँदा २१ सदस्य सभापतिले मनोनीत गर्न पाउने व्यवस्था छ । पटक–पटक गरी देउवाले २० सदस्य मनोनीत गरेका छन् । अब निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेका दलित महाधिवेशन प्रतिनिधिमध्येबाट एक सदस्य मनोनीत गर्न बाँकी छ । १२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले केन्द्रीय कार्यसमितिलाई पाँचवर्षे कार्यकालको अन्तिम समयमा मात्र पूर्णता दिएका थिए । तर, देउवा आधा कार्यकाल सकिन लाग्दा पूर्णतानजिक पुगेका छन् । झन्डै एक महिनाअघि उनले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा। प्रकाशशरण महतलाई मनोनीत गरेका थिए ।

२०७४ सालमा भएको भएको संघीय संसद्को निर्वाचनमा भक्तपुर २ बाट उम्मेदवार बनेर पराजित भएका दमननाथ ढुंगानालाई सभापति देउवाले महासमिति सदस्यमा मनोनीत गरेका छन् । ढुंगाना २०४८ सालमा काठमाडौं २ बाट निर्वाचित भएपछि सभामुख भएका थिए । तर, पछि उनी कांग्रेसमा सक्रिय भएनन् । केही समय नागरिक अगुवा भएका उनी पुनः कांग्रेसमा सक्रिय हुन लागेका हुन् ।
त्यस्तै, देउवाले महासमिति सदस्यमा काठमाडौंका तीर्थराम डंगोललाई पनि मनोनीत गरेका छन् । डंगोल काठमाडौं कांग्रेस पूर्वसभापति, पूर्वसांसद र पूर्वराज्यमन्त्रीसमेत हुन् । देउवाले महासमितिमा सदस्यमा कैलालीका हीरादत्त भट्टलाई मनोनीत गरेका छन् ।

केन्द्रीय समिति पूर्णता नजिक पुगे पनि देउवाले पार्टीको तल्लो तहसम्म सक्रिय बनाउने ४२ विभाग गठन गर्न सकेका छैनन् । पार्टीको विधानमा सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सबै संरचनालाई पूर्णता दिनुपर्ने विषय उल्लेख छ । तर, सयौँ–नेता कार्यकर्तालाई समेट्नै परिचालन गर्न सकिने विभाग गठन अझै हुन सकेको छैन । विभागमा केन्द्रदेखि जिल्ला हुँदै गाउँ, नगर र वडासम्मका नेता–कार्यकर्ता अटाउँछन् । ५ देखि ७ असारसम्म हेटौँडामा जिल्ला सभापतिको भेला गरेपछि विभागमा संयोजक तोक्ने तयारीमा सभापति देउवा छन् ।

त्यस्तै, संघीयतायुक्त संविधान बनेर निर्वाचन भएको लामो समय भए पनि कांग्रेसले आफ्नो पार्टी संरचनालाई संघीय स्वरूपमा ढाल्न सकेको छैन । अहिले पनि कांग्रेस पुरानै संरचनामा चलिरहेको छ । १३औँ महाधिवेशनमा सात प्रदेश प्रत्येकबाट दुई–दुई केन्द्रीय सदस्य कांग्रेसले निर्वाचित गरेको थियो । योबाहेकको संघीय संरचनाको अभ्यास कांग्रेसले गरेको छैन । पार्टी संरचनालाई संघीयताअनुसारको ढाँचामा बदल्न विधान नै संशोधन गर्नुपर्ने हुन्छ । यसका लागि विधान संशोधन समितिले आगामी भदौमा हुने महासमिति बैठकसमक्ष प्रस्ताव गर्ने समयसम्म पर्खिनुपर्ने हुन्छ ।

को हुन् घर्ती, हुमागाईं र खड्का

१२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले घर्तीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । १३औँ महाधिवेशनमा भने उनी केन्द्रीय सदस्यमा उठेनन् । तर, कोइराला परिवारनिकटका उनलाई अहिलेको पौडेल पक्षबाट सदस्यमा मनोनीत गरिएको छ ।

अर्का सदस्य हुमागाईं १३औँ महाधिवेशनमा प्रदेश नम्बर ३ बाट उठेर पराजित भएका थिए । यसपटक उनी सिटौला गुटबाट केन्द्रीय सदस्यमा मनोनीत हुन सफल भएका छन् । उनी काभ्रे कांग्रेसको पूर्वसभापति पनि हुन् । शिला शर्मा केही समयअघि निधन भएका कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काकी पत्नी हुन् । खड्काले १३औँ महाधिवेशनमा २५ खुला केन्द्रीय सदस्यमा डा।शेखर कोइरालापछि सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए । शिला २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद भएकी थिइन् । आजको नयाँ पत्रिकामा खवर छ ।

सम्बन्धित शिर्षकहरु