सरकारको नीति तथा कार्यक्रम आज, के–के छन् विशेषता ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्दै छ । नेपाल कम्युनिस्ट पार्टीको सरकारले पहिलोपटक चुनावी घोषणापत्रमा आधारित रहेर आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को दोस्रो संयुक्त बैठकमा पहिलोपटक सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गर्ने भएकाले यसलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

सरकारी नीति तथा कार्यक्रममा सामान्यतया सैद्धान्तिक विषय समेटिनेछ भने त्यसको निश्चित समयावधि र रकमलगायतका विषय बजेटमा पर्नेछन् ।

अर्थमन्त्री डा.युवराज खतिवडाले तत्कालीन वाम गठबन्धनको घोषणापत्रमा समावेश महत्वपूर्ण कार्यक्रमहरूलाई सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न लागेको बताए ।

स्रोतसाधनको सीमितताका कारण केही कार्यक्रमको शैली परिमार्जन गर्ने उनले जानकारी दिए । सोमबार सार्वजनिक गरिने सरकारको नीति तथा कार्यक्रममा जुटिरहेका अर्थमन्त्री खतिवडाले पैसा अभावले निर्वाचन जित्न घोषणा गरिएको पाँच हजार सुरक्षा भत्ता दिने कार्यक्रम भने नसमेट्ने भएका छन् ।

संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई वाचन गर्नेछिन् । सरकारको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा प्रणालीको एकीकृत ढाँचा कार्यान्वयनमा ल्याइने विषयलाई उल्लेख गरिने अर्थ मन्त्रालय स्रोतले बताएको छ । सरकारले भत्ताको विकल्पमा बिमा कार्यक्रम अगाडि सार्ने भएको छ ।

नीति तथा कार्यक्रममार्फत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका साथसाथै सबै श्रमिक तथा कर्मचारीलाई स्वास्थ्योपचार, बेरोजगार भत्ता, आश्रित परिवारको हेरचाहदेखि निवृत्तिभरणजस्ता न्यूनतम सामाजिक संरक्षणका सुविधा प्रत्याभूति गरिने भएको छ ।

नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई यातायात भाडामा छुटका साथै सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ट ५ हजार भत्ता र रोजगारमा संलग्न महिलालाई १४ हप्ताको सुत्केरी बिदा दिने जस्ता विषय समेट्ने तयारी गरिएको छ ।

संविधानबमोजिम राष्ट्रपतिले सोमबार दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको सचिवालयले जनाएको छ । राष्ट्रिय सभा ५९ र प्रतिनिधिसभा २७५ सांसदको संयुक्त बैठक दोस्रोपटक बस्न लागेको हो ।

नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने र त्यसमाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले सदनमा दिनेछन् । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत भई पारित हुनेछ । सोमबारै राष्ट्रपतिको सम्बोधनलगत्तै प्रतिनिधि सभाको बैठक साँझ साढे ५ बजे बस्नेछ ।

बैठकले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको स्वागत गर्ने र राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

नेकपा नेतृत्वको सरकारले अघि सारेको विकास र समृद्धिलाई मूर्तरूप दिन ल्याइने नीति तथा कार्यक्रमका आधारमा आगामी वर्षको बजेट तयारी समेत भइरहेको छ । संविधानअनुसार प्रत्येक वर्ष १५ जेठमा केन्द्र, १ असारमा प्रदेश र १० असारमा स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।

सम्बन्धित शिर्षकहरु