
विराटनगर । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताएकी छिन् । मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा शनिबारदेखि विराटनगरमा आयोजित ‘संघीयतामा लैङ्गिक उत्तरदायी, सार्वजनिक सेवा’ विषयक गोष्ठीमा आफू प्रधानन्यायाधीश रहरले भन्दापनि बाध्यताले भएको बताइन् ।
पूर्व प्रधानन्यायाधीश कार्कीले स्थानीय निकाय अर्धन्यायिक निकायमा गएकाले मुद्दाको निरुपण र मेलमिलाप गर्दा सफा मनले निष्पक्ष रुपमा कार्य गर्न सुझाएकी छिन् । कोही मान्छे जन्मँदै सिकेर आएको नहुनभन्दै स्थानीय निकायका प्रमुखसँगको समझदारीका साथ कानूनसम्बन्धी अध्ययन र अधिवक्तासँगको राय सुझावले न्याय सम्पादन गर्न पनि आग्रह गरिन् ।
पूर्व प्रधानन्यायाधीश कार्कीले देशले महिलालाई ठूलो अवसर दिएको बताउँदै यसलाई सफलतापूर्वक एवं सतर्क भएर कार्य गरी समाज परिवर्तनमा ठूलो भूमिका खेल्नु पर्ने बताईन् । उनले न्यायको कार्य गर्दा विभिन्न किसिमका मुद्दा आउने बताउँदै स्थानीय निकायले हेर्नेबाहेक बलात्कार, चेलीबेटी बेचबिखनलगायत अन्य फौज्दारी मुद्दा अदालतमा पठाउनु पर्ने औँल्याईन् ।








