काठमाडौं । कांग्रेसका महामन्त्री डा. शशांक कोइरालासहित कोइराला परिवारका ३ प्रभावशाली नेताबीच मंगलबार भेटवार्ता भएको छ। पार्टी केन्द्रीय सदस्य सुजाता कोइरालाको निवास मण्डिखाटारमा भएको भेटमा शशांक र सुजातासहित अर्का केन्द्रीय सदस्य डा. शेखर कोइराला सहभागी थिए।
भेटलाई पारिवारिक जमघट भनिए पनि वर्तमान राजनीतिक अवस्था, निर्वाचनमा पार्टीले भोगेको पराजय र भावी रणनीतिका विषयमा छलफल भएको निकट स्रोतले जानकारी दियो। कांग्रेस चुनावमा पराजित हुनुमा संस्थागत ढंगले नचल्नु र नेतृत्व कमजोर बन्नु नै मुख्य कारण रहेको निष्कर्ष छलफलबाट निकालिएको स्रोतले बतायो।
कांग्रेसमा बलियो राजनीतिक विरासत बोकेको कोइराला परिवारका ३ प्रभावशाली नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
स्रोतका अनुसार तीनै नेताले पार्टीको भावी नेतृत्व कोइराला परिवार भित्रैबाट खोज्ने गृहकार्य थालेका छन्। सभापतिका रुपमा महामन्त्री शशांकलाई अघि सार्ने तयारी छ। शशांकले पनि सार्वजनिक रुपमै पार्टीको नेतृत्वका लागि आफू तयार रहेको बताउने गरेका छन्।
यसअघि गत साउनमा पनि यी तीन नेताबीच छलफल भएको थियो। कांग्रेसमा हालको सहित ३ पटक मात्र पार्टी नेतृत्व कोइराला परिवारबाट बाहिर गएको इतिहास छ। सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवाबाहेक कोइराला परिवारबाहिरबाट सभापति भएको इतिहास छैन।
बीपी कोइरालालाई प्रतिस्थापन गर्दै सुवर्ण शमशेर सभापति बने पनि फेरि उनै बीपीले सुवर्णलाई प्रतिस्थापन गरेका थिए। यस्तै कृष्णप्रसाद भट्टराईले बीपीलाई प्रतिस्थापन गरेकोमा गिरीजाप्रसाद कोइरालाको रुपमा कोइराला परिवारमै नेतृत्व फर्किएको थियो। हालका सभापति शेरबहादुर देउवा सुशील कोइरालालाई प्रतिस्थापन गर्दै सभापति बनेका हुन्।








