यसरी हुँदैछ राष्ट्रियसभा चुनाव,यस्तो छ निर्वाचन तालिका

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ २४ मा निर्वाचन गर्ने तय गरेपछि आयोगले कार्यतालिका बनाएको हो, जस अनुसार माघ १० गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । आयोगको निकालेको तालिका अनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने र ९ गते अन्तिम नामावली प्रकाशन गरिने छ । त्यस्तै ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ २४ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने आयोगले जनाएको छ ।

निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख एवं प्रदेशसभा सदस्य मतदाता हुनेछन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २,०५६ जना मतदाता छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ । स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्यको मतबाट राष्ट्रियसभाका ५६ सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट महिला र खुलाबाट ३/३ जना, दलित र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १/१ जना गरी ८ जना चुनिनेछन् ।

निर्वाचन आयोगले सात स्थानमा मतदान स्थल बनाउनेछ । राष्ट्रियसभामा ५९ जना सांसद चुनिनुपर्नेमा समानुपातिक रुपमा ५६ जना निर्वाचित हुने र ३ जना मनोनित गर्ने व्यबस्था रहेको छ । राष्ट्रियसभा चुनावको लागि निर्वाचन आयोगले ७ जना जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गर्ने छ । पुस २९ गते सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा कार्यालय स्थापना गर्ने पनि निर्णय आयोगले गरेको छ ।

सम्बन्धित शिर्षकहरु