आशंका चिर्दै ओली-दाहाल : पार्टी एकताको मोडालिटीमा छलफल

काठमाडौं । एमाले र माओवादी केन्द्रले पार्टी एकताको संगठनात्मक र वैचारिक राजनीतिक मोडालिडीको विषयमा छलफल सुरु गरेका छन्। दुवै पार्टीका अध्यक्ष तहमा संगठनात्मक मोडालिडी र दोस्रो तहका नेताबीच वैचारिक राजनीतिक छलफल गर्ने गरी एकताको गृहकार्य अगाडि बढेको हो। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार ओलीनिवास बालकोटमा भएको भेटमा पनि पार्टीको मूल नेतृत्वको व्यवस्थापनसहित संगठनात्मक मोडालिटीको विषयमा छलफल भएको थियो। मोडालिटीको खाकाका विषयमा भने दुवै नेताले खुलाएका छैनन्। यो विषयमा एकता संयोजन समितिको बैठक बस्नुअगाडि बिहीबार नै ओली र दाहालबीच थप छलफल हुने स्रोतले बतायो।

दुवै पार्टीबीच पार्टी एकता, त्यसपछिको नेतृत्व व्यवस्थापन र सरकारको विषयमा भने मिश्रित खाकामा छलफल चलेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘मिश्रित खाकामा छलफल भएको छ। प्रधानमन्त्री केपी ओली बन्नुहुन्छ। पार्टी नेतृत्वलगायत अरू विषयमा पनि कुराकानी भइरहेको छ, उनले भने।

उनका अनुसार दोस्रो तहका नेताबीच भने पार्टी एकताको सैद्धान्तिक राजनीतिक आधारमा केन्द्रित छलफल भइरहेको छ। नेता ज्ञवालीले भने, ‘पार्टी एकताका लागि दुई पार्टीबीचका वैचारिक आधारहरू के-के हुने, संगठनात्मक मोडालिटी के हुन सक्छ भन्नेमा दोस्रो तहमा कुराकानी भइरहेको छ।’

पार्टी एकताको सैद्धान्तिक सहमति गरेका र निर्वाचनमा तालमेल गरेर चुनाव लडेका दुई पार्टीका अध्यक्षहरूको भेटघाट पातलो हुँदा विभिन्न आशंका बढिरहेका बेला ओली र दाहालबीच बुधबार भेट भएको हो। झन्डै १० दिनयता प्रत्यक्ष संवादमा नेताहरू नबस्दा आशंका पैदा भएको थियो। बुधबारको भेटमा सुरुमै दुई नेताहरूले एकआपसमा देखिएका आशंका, अविश्वास र जन्मिएका प्रश्नबारे कुरा झिक्दै आशंका चिर्ने र एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको ज्ञवालीले बताए। आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

सम्बन्धित शिर्षकहरु