‘एकताको हल्लामा नलागौं, वैकल्पिक शक्ति बच्चाको खेलौना होइन’

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिबारे गम्भीर बन्न आफ्नो पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

नयाँ शक्तिको बारेमा चलेका विभिन्न हल्लाहरुको प्रतिवाद गर्दै संयोजक भट्टराईले उक्त कुरा बताएका हुन् । ‘हाम्रो पार्टी नयाँ शक्ति नेपालको ५ ‘स’को अवधारणा जत्तिको वैकल्पिक राजनीतिको वैज्ञानिक र स्पष्ट मार्गचित्र अरू कसैसँग छैन,’ उनी भन्छन्, ‘हाम्रो आफ्नै विविध आन्तरिक कारणवश हामी अहिलेसम्म जनतामा त्यसलाई स्थापित गर्न सफल भएका छैनौं, यथार्थ यही हो ।’

भट्टराईले नयाँ शक्तिलाई नै मजबुत शक्ति बनाएर अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै कुनै एकता वा कतै जाने भ्रम र हल्लाको पछाडि नलाग्न नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका छन् । उनी भन्छन्, ‘अब हामीले केही समय गम्भीर आत्मसमीक्षा गरेर आफुलाई वैचारिक राजनीतिक, सांगठनिक र व्यवहारिक ढंगले स्पष्ट, दृढ र मजवुत बनाउन सम्पूर्ण शक्ति लगाउनुपर्छ । त्यसपछि मात्रै ध्रुवीकरणका विविध विकल्पवारे सोच्नु उपयुक्त हुन्छ ।’

उनले अहिले नयाँ शक्तिको कसैसँग ध्रुवीकरण नहुने स्पष्ट पारेका छन् । ‘अहिले आफु कमजोर भएको बेलामा अरूसंग एकताको कुरा गर्नु भनेको आत्मसमर्पण, पलायन र विसर्जन बाहेक केही पनि हुन्न । त्यही कुरा गर्ने हो भने पनि त्यसको निश्चित विधि, प्रक्रिया र समय हुन्छ ।’ उनले बिना योजना एकताको कुराको हल्ला नगर्न र भ्रममा नपर्न अनुरोध गरेका छन् ।

उनले वैकल्पिक राजनीति बच्चाको खेलौना नभएको भन्दै नयाँ शक्ति निर्माणको अभियानमा दृढतापूर्वक अगाडि बढ्न आग्रह गरेका छन् । ‘यसबारे गम्भीर बन्न र वैकल्पिक राजनीतिलाई कुनै बच्चाको खेलौना जस्तो नठान्न र नबनाउन म सबै जिम्मेवार साथीहरूलाई हार्दिक आग्रह गर्दछु,’ उनले भनेका छन् ।

सम्बन्धित शिर्षकहरु