असोज १९ । काठमाडौ,नेपाली काँग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन छ साना दलले फिर्ता लिने भएका छन् ।सरकारबाट समर्थन फिर्ता लिने दलहरुमा राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी, खुम्बुवान मुक्ति मोर्चा, बहुजन शक्ति पार्टी, नेपाली जनता दल र नेपाः राष्ट्र पार्टी रहेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको संघीय गणतान्त्रिक मोर्चासँग सहकार्य गर्ने सहमति पछि सरकारबाट फिर्ता हुने ती दलहरु निर्णयमा पुगेको हो ।
अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको मोर्चाको बैठकबाट परशुराम तामाङ अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धन र भानुराम चौधरी अध्यक्ष रहेको संघीय गठबन्धनले पनि संघीय गणतान्त्रिक मोर्चासँग सहकार्य गर्ने निर्णय गरेको मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनु भयो ।
गणतान्त्रिक मोर्चासँग सहकार्य गर्ने भएपछि संघीय गठबन्धनमा आवद्ध छवटा दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने संघीय गठबन्धन एवं थारुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरीले बताउनु भयो ।
संघीय गणतान्त्रिक मोर्चाले लिएको अवधारणालाई स्वीकार गर्दै दुईवटा मोर्चाले पनि ती मोर्चासँग सहकार्य गर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनका अध्यक्ष तामाङले बताए ।
उनले काँग्रेस र एमालेको क्रियाकलाप तथा मन्तव्यले गर्दा संविधानसभाबाट सहमति संविधान निर्माण नगर्ने आफूहरुले ठहर गरेको बताउँदै संघीयतासहितको संविधान निर्माणका लागि संघर्षका लागि विभिन्न मोर्चाहरुले सहकार्य गरेको बताए ।
तीनवटै मोर्चाको आ–आफ्नै नाम रहेपनि संयुक्त रुपमा संघर्ष गर्ने तामाङले बताए । उहाले भन्नु भयो, सत्ताधारी दलका नेताहरुले बहुमतको धाक देखाएर प्रकृयामा जाने कुरा गरिरहेका छन् जो आफूहरुलाई स्वीकार छैन, सहमतिमा नै संविधान निर्माण हुनुपर्ने आफूहरुको जोड रहेको पनि बताउनु भयो ।
अध्यक्ष प्रचण्ड नेतृत्वमा मोर्चामा सात, तमागं नेतृत्वको मोर्चामा आठ र चौधरी नेतृत्वको मोर्चामा ९ दल सहभागि छन् ।
तीनवटै मोर्चा मिलाएर २४ दलको सशक्त गठबन्धन भएको छ ।








