अष्ट्रेलिया- अष्ट्रेलियाको अध्यागमन कानुन र त्यसको पालना कडा मानिएपनि अष्ट्रेलियामा ६४ हजार भन्दा धेरै विदेशी नागरिक अवैध बस्दै आएको तथ्यांक सार्वजनिक भएको छ । क्यान्बेराटाइम्सको समाचार अनुसार विभिन्न प्रयोजनका लागि दिईएको भिसाको म्याद सकिएपनि उनिहरु अवैध रुपमा बसोबास गरिरहेका छन् ।
भिसाका सर्त तथा अध्यागमन कानुन अनुसार भिजामा दिईएको म्याद भित्र नै ती व्यक्तिहरूले अष्ट्रेलिया छोडिसक्नुपर्ने थियो। यसरी भिसा सर्त अटेर गरेर ‘ओवर स्टे’ गर्नेहरू मध्ये करिब १२ हजार त २० वर्ष देखी बिना भिसा नै अष्ट्रेलियामा बसिरहेका छन्।
अष्ट्रेलियन अध्यागमन विभागले हरेक वर्ष जुन ३० मा यसरी गैरकानुनी रूपमा अष्ट्रेलियामा बस्ने विदेशी नागरिकहरूको संख्या सार्वजनिक गर्ने गरेको छ।
भिजा अवधी नाघेर अवैध बस्ने नेपालीको संख्या समेत एक हजारको हाराहारीमा रहेको अनुमान छ। विद्यार्थी भिजामा आएकाहरू पढाई, काम र जिवनशैलीलाई व्यवस्थित पार्न नसक्दा अवैध हुने गरेका छन्।
अष्ट्रेलियामा यसरी अवैध बस्नेहरुमा ब्रिटिश, इन्डोनेशियन, भारतीयको संख्या पनि उल्लेख्य रहेको छ। ३७०० ब्रिटिश, २७८० इन्डोनेशियन र २७३० भारतीय गैरकानुनी रूपमा बसेको अध्यागमन विभागले संसदको एक सिनेट कमिटीलाई जुन ३० मा जानकारी गराएको समाचारमा उल्लेख गरेको छ।
अवैध बस्नेहरूमा करिब ४७,००० भिजिटर भिसामा आएका, ९६९० स्टुडेन्ट भिजामा आएका छन् भने माइग्रेन्ट ९आप्रवासी० भिजामा आउनेको संख्या ७०० हाराहारीमा रहेको छ।








