भदौ १९ ।काठमाडौं, भारतसँग विद्युत् व्यापार सम्झौता पीटीए बारे छलफल गर्न नेपालभारत वार्ता आजदेखि नँया दिल्लीमा सुरु हुँदैछ ।नेपालले भारतीय प्रस्तावलाई अस्वीकार गर्दै पीटीएमात्र गर्न मस्यौदा पठाएपछि भारतले त्यसमा वार्ता गर्न बोलाएकाले सरकारले नयाँ दिल्लीमा प्रतिनिधी मण्डल भारत पठाउने निर्णय गरेको हो । नेपालले सन् २००४ मा नै पीटीए गर्न भारतसमक्ष प्रस्ताव पठाएको थियो ।
भारतका ऊर्जा सचिव नेतृत्वको टोलीसित नेपालद्वारा प्रस्तावित विद्युत् व्यापार सम्झौताको मस्यौदामा दुई पक्षीय टोलीबीच बुधबार अपराह्न, बिहीबार र शुक्रबार वार्ता हुनेछ ।
भारतसित विद्युत् व्यापार सम्झौता पीटीएका बारेमा वार्ता गर्न ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीको नेतृत्वमा आठ सदस्यीय नेपाली टोली आज नयाँ दिल्ली प्रस्थान गरेको छ ।
भारतले नेपालको जलस्रोतमा एकाधिकार गर्ने नियतसहितको विद्युत् विकास सम्झौता गर्न नेपालसमक्ष पठाएको प्रस्तावमा मुलुकमा व्यापक विरोध भएको थियो ।
तर, लामो समय नेपालको प्रस्तावमा बेवास्ता गरेको भारतले भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि भारतीय सरकार त्यसमा वार्ता गर्न तयार भएको हो ।
क्षेत्रीको नेतृत्वमा नयाँ दिल्लीमा हुने पीटीए वार्तामा नेपालका तर्फबाट सहसचिवहरू ऊर्जा मन्त्रालयका नीति महाशाखा हेर्ने केशवध्वज अधिकारी, परराष्ट्र मन्त्रालयका अमृतबहादुर राई, कानुन मन्त्रालयका नरेन्द्रमान श्रेष्ठ, विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डे, उत्पादन निर्देशनालय प्रमुख शेरसिंह भाट र ऊर्जा मन्त्रालयका शाखा अधिकृत सविना खर्बुजा तथा भारतका लागि नेपालका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल सहभागी हुनेछन् ।
नेपाली टोलीका संयोजक क्षेत्रीले मन्त्रिपरिषदले दिएको अख्तियारीअनुसार पीटीएका बारेमा वार्ता हुने र समझदारीका लागि अधिकतम प्रयास गरिने जानकारी दिनु भयो ।








