नवनिर्वाचित प्रधानमन्त्री देउवालाई भारतका प्रधानमन्त्री र चिनद्वारा बधाई

काठमाण्डौ जेठ २३ । नेपाली काँग्रेसका सभापति तथा सँसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । प्रधानमन्त्री मोदीले नवनिर्वाचित प्रम देउवालाई टेलीफोन गरी  उहाँको कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल भारतको सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । देउवा निकट पत्रकार तथा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलका अनुसार भारतीय प्रधानमन्त्रीले देउवाको नेतृत्वमा नेपालमा शान्ति, समृद्धि तथा प्रगतिको कामना गर्नु भएको थियो ।

त्यसैगरी नेपालका लागि चिनियाँ राजदूत यु होङ आज साँझ देउवाको निजी निवास बुढानिलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा उहाँलाई चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गर्नुभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।
सो अवसरमा राजदूत होङले नेपाल–चीन सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाको सफल कार्यकालको कामना गर्नुभयो ।

जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले दुबै देश सँगको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । रासस

सम्बन्धित शिर्षकहरु