मनोनयन दर्ता सकियो, यस्ता छन् महानगर र उपमहानगर

काठमाडौं, २० वैशाख – पहिलो चरणको स्थानीय चुनावको उम्मेदवार मनोनयन दर्ता मंगलबार सम्पन्न भएको छ । ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा ३१ वैशाखमा पहिलो चरणमा निर्वाचन हुदैंछ । तीनवटा प्रदेश रहेका चार महानगरपालिका, एक उपमहानगर र ९२ नगरपालिकाका लागि प्रमुख, उपप्रमुख तथा एक सय ८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको मनोनयन दर्ता सम्पन्न भएको छ ।

देशका चारैवटा महानगरपालिकाको चुनाव पहिलो चरणमा सम्पन्न हुन गइरहेको छ । जसमा एक सय २३ महानगरका लागि वडाध्यक्ष, १९ उपमहानगर, एक हजार ९१ नगरपालिका र एक हजार तीन सय ६५ गाउँपालिकाका लागि दुई हजार पाँच सय ९८ वडाध्यक्षको मनोनयन मंगलबार भयो । त्यसैगरी दुई हजार पाँच सय ९८ वडाका १० हजार तीन सय ९२ वडा सदस्यको मनोनयन दर्ता भएको छ । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले उम्मेदवारी तोक्दा नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान रहेको छ । त्यस्तै वडामा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ । चार महानगर र एक उममहानगरका विभिन्न दलका उम्मेदवार यस्ता छन् ।

 

काठमाडौं महानगरपालिका
नेपाली कांग्रेसबाट प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गीको उम्मेदवारी परेको छ । नेकपा (एमाले) बाट प्रमुखमा विद्यासुन्दर शाक्य र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेका कारण उपप्रमुखमा राप्रपाका राजाराम श्रेष्ठ रहेका छन् ।
नेकपा (माओवादी केन्द्र) बाट प्रमुखमा सर्वोत्तम डङ्गोल र उपप्रमुखमा सुशीला पौडेल रहेका छन् । साझा पार्टीले किशोर थापा प्रमुखमा उम्मेदवार मनोनयन दर्ता भएको छ । विवेकशील नेपाली दलबाट प्रमुखमा रञ्जु न्यौपाने दर्शना, राष्ट्रिय जनमोर्चाबाट निर्मलकुमार थापा प्रमुखमा दर्ता गरिएको छ ।

 

ललितपुर महानगरपालिका
नेपाली कांग्रेसबाट प्रमुखमा श्रीबाबु महर्जन र उपप्रमुखमा गीता सत्याल, नेकपा (एमाले) बाट प्रमुखमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा राप्रपासँग तालमेल गरी बाबुकाजी प्रधानलाई उम्मेदवार बनाइएको छ ।नेकपा (माओवादी केन्द्र) बाट प्रमुखमा दिनेश महर्जन र उपप्रमुखमा हसिना शाक्य, नेकपा (माले) बाट प्रमुखमा मोहनराज शाक्य र उपप्रमुखमा लक्ष्मी श्रेष्ठ, नेकपा (क्रान्तिकारी माओवादी) बाट प्रमुखमा विजय खड्गी र उपप्रमुखमा इन्दिरा अधिकारी तथा राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रमुखमा रोशन महर्जन र स्वतन्त्रबाट रमेश महर्जनको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाबुकाजी महर्जन र स्वतन्त्र शोभा शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।

 

पोखरा महानगरपालिका
नेपाली कांग्रेसबाट मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङ, नेकपा (एमाले) बाट मेयरमा मानबहादुर जिसी र उपमेयरमा मन्जु गुरुङ, नेकपा (माओवादी केन्द्र) बाट मेयरमा विश्वप्रकाश लामिछाने र उपमेयरमा गोमा ढकाल उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा रीता गुरुङ र उपमेयरमा रमेशबहादुर खत्री, समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबाट मेयरमा हुम गुरुङ र उपमेयरमा लक्ष्मी खाती परियारको उम्मेदवारी परेको छ ।

 

भरतपुर महानगरपालिका
नेपाली कांग्रेसकाबाट मेयरमा दिनेश कोइराला र उपमेयरमा पार्वती शाह, नेकपा (एमाले) बाट मेयरमा देवीप्रसाद ज्ञवाली र उपमेयरमा दिव्य शर्मा आचार्य, माओवादी केन्द्रबाट मेयरमा रेणु दाहाल र उपमेयरमा सुरेन्द्र गुरुङ, राप्रपाबाट बद्री तिल्सििना मेयर र रिना गुरुङको उपमेयरमा उम्मेदवारी परेको छ ।

 

हेटौडा उपमहानगर
पहिलो चरणको चुनावमा हेटौडा उपमहानगरपालिकाबाट नेपाली कांग्रेसले प्रमुखमा आनन्दप्रसाद पराजुली र उपप्रमुखमा लक्ष्मी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले) ले मेयरमा हरिबहादुर महत र उपमेयरमा मीना लामा, नेकपा (माओवादी केन्द्र) ले मेयरमा कुमारी मोक्तान र उपमेयरमा बलरामलाई उम्मेदवार बनाएका छन् । राप्रपाले प्रमुखमा मधुकर अधिकारी र उपप्रमुखमा इन्दिरा न्यौपानेलाई तोकेको छ ।

सम्बन्धित शिर्षकहरु