१९ वैशाख-
काभ्रेमा उमेदवारी दर्ता सुरु, दलहरूमा उत्साह
काभ्रे । २० वर्षपछि स्थानीय निर्वाचन हुन आँटेपछि काभ्रेमा उत्साह छाएको छ । दलहरू बिहान दश बजेदेखिनै उमेदवारी दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालयमा गइरहेका छन् ।
जिल्ला निर्वाचन अधिकृत मधुकरप्रसाद पोखरेलका अनुसार काभ्रेका सबै निर्वाचन कार्यालयमा मनोनयन दर्ता भइरहेको छ । र, ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको काभ्रेका सबैजसो तहमा उमेदवारी दर्ता सुरू भइसकेको छ ।
“ठाउँ–ठाउँमा झन्डासहित दलहरू उमेदवारी दर्ता गर्न हिँडिरहेका छन् । कार्यकर्तामा उत्साह देखिएको छ,” पोखरेलले जानकारी दिए ।उनकाअनुसार बेलुका ७ बजेसम्ममा जिल्ला निर्वाचन कार्यालयले उमेदवारको नामावली प्रकाशन गर्ने छ ।
दोलखामा धमाधम उमेदवारी दर्ता
दोलखामा स्थानीय निर्वाचनको उमेदवारी दर्ता सुरु भएको छ । दुईवटा नगरपालिका र सातवटा गाउँपालिका रहेको दोलखामा जिल्लामा शान्तिपूर्ण रूपमा उमेदवारी दर्ता भइरहेको जिल्ला निर्वाचन अधिकृत सच्युतराज उप्रेतीले जानकारी दिए । उनका अनुसार जिल्लामा दर्ता भएका २० वटै राजनीतिक दलहरू बिहानैदेखि उमेदवारी दर्ता गर्न लाइमा खडा भएका छन् । “शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गर्नका खातिर हामीले हिजो सर्वदलीय बैठक आह्वान गरेका थियौँ । बैठकमा सबैजसो पार्टीहरू सहभागी थिए । अहिले उहाँहरू पालैसँग उमेदवारी दर्ता गर्दै हुनुहुन्छ,” उनको भनाइ थियो ।
२० वर्षपछि स्थानीस्तरमा हुन लागेको निर्वाचनले बेग्लै उत्साह जगाएको उप्रेतीको भनाइ थियो ।
मकवानपुरमा उत्साहजनक रूपमा उमेदवारी दर्ता
मकवानपुर । मकवानपुरमा बिहानैदेखि उमेदवारी दर्ता भइरहेको छ । स्थानीय तह निर्वाचनका लागि विभिन्न पार्टीका नेता–कार्यकर्ताहरू जुलुससहित निर्वाचन कार्यालय आइरहेको जिल्ला निर्वाचन अधिकृत ईश्वर सिंखडाले जानकारी दिए । एक उपमहानगरपालिका, एक नगरपालिका र ८ वटा गाउँपालिका रहेको मवानपुरमा चुनावको उत्साह छाएको छ । “पार्टीहरूले हिजै उमेदवारी दर्ता फारम बोकेर त जानुभएको थियो, अहिले यहीँ आएर भर्दै हुनुहुन्छ । बेलुकासम्म उमेदवारी दर्ता गर्नेको नामवली प्रकाशन गर्छौं,” उनले भने, “२० वर्षपछि निर्वाचन हुन लागेकाले दलमा मात्र होइन मतदातामा पनि उत्तिकै उत्साह छाएको छ ।”
ललितपुरमा उमेदवारी दर्ता जारी
ललितपुर । स्थानीय तह निर्वाचनका लागि ललितपुरमा उमेदवारी दर्ता जारी छ । उमेदवारी दर्ता बिहान दशबजेबाट सुरु भएको जिल्ला निर्वाचन अधिकृत सीता साम्बाले जानकारी दिइन् । एक महानगर, दुई नगर र तीन गाउँपालिका रहेको ललितपुरमा मतदाता तथा उमेदवारमा उत्साह छाएको साम्बाको भनाइ छ ।








