बर्लिन, भारतले अघोषित रुपमा गरेको नाकाबन्दीको विरोधमा जर्मनीमा बस्ने नेपाली समुदायले विरोध जनाएका छन। अघोषित नाकावन्दीको विरोधमा नेपाली जनसमुदायले बिहीबार बर्लिनस्थित भारतीय राजदुतावास अगाडि प्रर्दशन गरेका हुन।
गैह्र आवासीय नेपाली संघ जर्मनीको संयोजकत्वमा आयोजना गरिएको विरोध कार्यक्रममा, जर्मनीका विभिन्न सहरबाट सय भन्दा बढी नेपालीहरुले र केही जर्मन नागरिकले पनि सहभागीता जनाएका थिए । कार्यक्रममा गैह आवासीय नेपाली संघ जर्मनी र अन्य उपस्थित सबैद्वारा हस्ताक्षरित विरोध–पत्र भारतीय दुताबासलाई हस्तान्तरण गरिएको थियो ।
प्रर्दशनकारीहरूले मोदी स्टप इलिगल बल्केज इन नेपाल, नेइवर हेल्प नट हर्ट, मोदी इज अगेनिष्ट अफ ह्युमन राइट्स, डोइङ बल्केज इन नेपाल जस्ता नाकाबन्दीको विरोधमा लेखिएका प्लेकार्डहरू सहित प्रदर्शन गरेका थिए। प्रर्दशनकारीहरूले अघोषित नाकावन्दी तत्काल फिर्ता गरिनुपर्ने र नेपाल र भारतबीच मित्रतापुर्ण सम्बन्ध कायम गरिनुपर्ने माग राख्दै नारावाजी गरेका थिए ।
विरोध कार्यक्रममा गैह आवासीय नेपाली संघका प्रमुख संरक्षक जिवा लामिछाने, संरक्षक दिलबहादुर गुरुङ, आइसिसीका उपाध्यक्ष कुमार पन्त, सल्लाहकार पुष्प थापा, नेपाली जनसम्पर्क समितिका सभापति विजय मोत्तान, विद्यार्थीका तर्फबाट विजय गिरी लगायतले विरोध मन्तव्य राखेका थिए। यस्तै विरोध सभामा ऐक्यवद्धता जाहेर गर्दै जर्मनहरूको तर्फबाट डा मेल्मा मोरङले आफ्नो भनाई राखेका थिइन ।
विरोध सभाको सञ्चालन गैह्र आवासीय नेपाली संघका अध्यक्ष नवराज रोस्याराले गरेका थिए भने कार्यक्रमको अन्त्यमा एनआरएन एलसिसी बर्लिनका संयोजक राजेश सुनारले धन्यवाद ज्ञापन गरेका थिए।








