बैंकक विष्फोट आर्थिक विकासमा लक्षित

एजेन्सी,थाइल्याण्डको राजधानी बैंककमा सोमबार साँझ एउटा हिन्दु मन्दिर नजिकै भएको विष्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । १ सय २० जनाभन्दा बढी घाइते भएका छन् । दुई वटा बम निष्क्रृय पारिएको छ । यो विष्फोटमा कसको संलग्नता छ भन्ने अझै यकिन भइसकेको छैन ।

विष्फोट इरावान मन्दिरको नजिकै भएको थियो जहाँ ठुलो संख्यामा मानिसहरु उपस्थित थिए । विष्फोटका समयमा घटनास्थलमै रहेका एक व्यक्ति रिचर्ड सीनीकुरेजाले बीबीसीसँग भने,‘ म मन्दिर नजिकैको सपिङ मलमा जाँदै थिए ठीक त्यति नै बेला मैले एउटा ठूलो विष्फोटको आवास सुनें । हेर्दा त्यहाँ मानिसहरु यताउता भागिरहेका थिए ।

विष्फोटपछि घटनास्थलको दृश्य मन विक्षीप्त पार्ने खालको थियो । एक अर्का प्रत्यक्षदर्शी जेम्स सेल्सले बीबीसीसँग भने,‘ त्यहाँ कयौं शव थिए, एक व्यक्तिको त शरीर नै दुई टुक्रा भएको थियो । कयौं शव चीनियाँ पर्यटकको थियो ।’
शहरका अरु भागमा पनि बम राखिएको थियो । बैंकक पोस्टका संवाददाता मार्क ह्युग्सका अनुसारे पुरै शहरमा सायरन बजिरहेको थियो । कुल ३ वटा बम राखिएको थियो । राम्रो कुरा यो भयो कि शहरका अन्य २ ठाउँमा राखिएको बम विष्फोट हुन पाएन ।

विष्फोट अति नै शक्तिशाली थियो । विष्फोटको असर करिब १०० मिटरको दायरामा भएको थाइल्याण्डका प्रहरी प्रमुख सोम्योत पोम पुमउयांगले जानकारी दिए । जानकारहरुका अनुसार विष्फोटका लागि ३ केजी विष्फोटक पदार्थको प्रयोग गरिएको थियो ।

थाइल्याण्डमा यतिबेला सेना समर्थित सरकार छ । सैन्य सरकारका प्रवक्ता भन्छन्, ‘घटनाको छानबिनका लागि कुनै कसर बाँकी राखिने छैन । जो जिम्मेवार छन् उनीहरुलाई न्यायको कठघरामा ल्याउन सरकारको जोडबल रहनेछ ।’
थाइल्याण्डका रक्षामन्त्री प्रवित वोंग सुवानका अनुसार यो विष्फोट विदेशी पर्यटकहरुलाई निशाना बनाउने उद्देश्यले गरिएको हो । त्यसैले सँधै भीडभाड रहने इरावान मन्दिर विष्फोटका निम्ति चुनिएको हो ।

थाइल्याण्डमा केही मुसलमान चरमपन्थी गतिविधिमा सामेल छन् । तर, उनीहरु देशको दक्षिणी भागमा सिमित छन् । उनीहरुबाट अन्य क्षेत्रमा यसअघि सम्भवत कुनै आक्रमण भएको छैन । तर बैंककमा पछिल्लो एक दशकयता राजनीतिक गुटहरुबीच हिंस्रक प्रतिस्पर्धा भने हुँदै आएको छ ।

थाइल्याण्डमा अघिल्लो बर्ष मेमा भएको अशान्तिपछि त्यहाँको सेनाले निर्वाचित सरकारलाई हटाएर सत्ता आफ्नो हातमा लिएको छ ।

सम्बन्धित शिर्षकहरु