अखिल महाधिवेशनको यस्तो सरगर्मी

Flag_of_ANNFSU_new__400x400-अजेय शर्मा

लोकतान्त्रिक मूल्य मान्यताका दुहाई दिएर नथाक्ने एमाले भित्रको वेतिथि चर्चा गरेरै साध्य छैन । प्रतिष्पर्धा, पहलमदमीमार्फत श्रेष्ठ बन्ने जवज मान्यताबाट एमाले स्खलन भएको उहिल्यै हो । यसमाथि भातृ संगठनहरूको अवस्था त झनै दया लाग्दो छ ।

नेतृत्व नछान्न पाइने तर नमान्न नपाइने लोकतान्त्रिक विधि र प्रक्रियाको मूल मन्त्र हो । तर, एमालेका नेता कार्यकर्ताको अवस्था यसको ठीक विपरित छ । बैठकमा मात्र होइन चिया पसलमा नै नेतृत्वको हुर्मत लिन उनीहरू पछि पर्दैनन् । पछिल्लो समय एमालेको भातृ संगठन अनेरास्ववियुमा यस्तै बेहाल देख्न पाइन्छ ।

आगामी असोजमा महाधिवेशनमा गर्न लागेको अनेरास्ववियु भित्र नेतृत्वका लागि दौड सुरू भइसकेको छ । त्यसो त दुई वर्ष अघि सम्पन्न संगठनको २१ औँ राष्ट्रिय महाधिवेशन लगत्तै नेतृत्वका लागि दौडधुप सुरू भएको हो । २०२२ साल जेठ १ गते स्थापना भएको अनेरास्ववियुले असोजमा २२ औँ महाधिवेशन आयोजना गर्दैछ । संगठनले स्थापनाको स्वर्ण जयन्ती मनाइरहँदा यसले राष्ट्रिय राजनीतिमा थुप्रै आशा लाग्दा अनुहारहरू पनि जन्माएको छ । पार्टी भित्र मात्रै होइन बाहिर पनि विद्यार्थी राजनीति गरेर आएकाहरूको बेग्लै स्थान हुने गर्दछ । उनीहरूको राजनीतिक बैचारिक दख्खल, संगठन निर्माण र परिचालनको शैली अन्य नेता कार्यकर्ताहरूको भन्दा भिन्न र पृथक हुने गर्दछ ।

deepak

अनेरास्ववियुकै राजनीति गरेकाहरू एमालेको शीर्ष तहमा छन् । घनश्याम भुषाल, योगेश भट्टराई, शंकर पोखरेल, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी अनेरास्ववियु मार्फतै स्थापित भएका नेता हुन् । त्यसको लामै पंक्ति पनि छ ।

कुनै समय राष्ट्रिय राजनीतिलाई तरंगित तुल्याउन सक्ने अनेरास्ववियु अहिले ‘किन चाउरिस मरिच आफ्नै रागले’ को शैलीमा खुम्चँदै गएको छ । यसको मुख्य कारण भनेको नेता कार्यकर्तामा बढ्दै गएको अनुशासन हिनता नै भएको अनेरास्ववियुको पूर्व नेता कार्यकर्ता बताउँछन् ।

एक पूर्व नेताले भने– ‘अनेरास्ववियुमा अहिले फगत नेतृत्व हत्याउने दाऊ छ, उनीहरूमा कुनै सांगठनिक चरित्र छैन, संगठनप्रति कुनै चासो र चिन्ता छैन।’ असोजमा महाधिवेशन गर्ने गरी अनेरास्ववियु अघि बढिरहेको छ । त्यसका लागि संगठनले आमामी साउन २९ र ३० गते राजधानीमा विधान सम्मेलन गर्न लागेको छ । तर, नेता कार्यकर्ताहरूले नीति सम्मेलनको भन्दा नेतृत्व सम्मेलनको बढ्ता चासो र चिन्ता लिन थालेका छन् । आफू नेतृत्वमा पुगिन्छ कि पुगिँदैन भन्ने जोड घटाउमा मरिमेटेर लागेका छन् ।

आमामी नेतृत्वका लागि उपाध्यक्षत्रय थोमस बास्तोला, दीपक गौतम र ऐन महर त्यस्तै महासचिव नविना लामा मैदानमा देखा परेका छन् । यस अघि नै उपाध्यक्ष भइसकेकी लामा अध्यक्षमा उठ्ने तयारी गरेकी थिइन् । तर, लामालाई आगामी महाधिवेशनमा अध्यक्ष उठाउने शर्तमा महासचिवमा झारिएको थियो ।

अनेरास्ववियुको आगामि महाधिवेशन आफ्नो पोल्टामा पार्न एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल खुलेरै लागेका छन् । भातृ संगठनमध्ये सामरिक महत्व राख्ने अनेरास्ववियुमा आफ्नो पक्षलाई जिताउन उनीहरूले जिल्ला दौड पनि सुरू गरिसकेको एक नेताले बताए ।

डीभी पीआरको खेल; भ्रष्ट र अनियमितताको झेल
अनेरास्ववियुमा डीभी पीआरको चर्चाले अहिले राम्रै बजार पाएको छ । एमाले कोटाबाट सामान्य प्रशासन मन्त्री बनेका लालबाबु पण्डितले डीभी पीआर लिने राष्ट्र सेवकहरूको सात्तो लिएपछि त्यसको आगो अनेरास्ववियुमा पनि सल्किएको छ । उपाध्यक्ष थोमस बास्तोलाको श्रीमतीलाई डीभी परेको र बास्तोला त्यसै मार्फत अमेरिका भासिने हल्ला अनेरास्ववियुमा अहिले भूसको आगो बनेको छ । बास्तोला आफैँ पनि तीन महिना अघि अमेरिका गएर फर्किएका हुन् । त्यसो त उनी श्रीमतीलाई परेको डीभीकै कारण आफूलाई अन्यायमा पार्न नहुने तर्क गर्दछन् ।

‘मानिसको आफ्नो आफ्नो जीवन हुन्छ, वैयक्तिक जीवनका हिसावले श्रीमान् र श्रीमती पनि बेग्लावेग्लै हो, श्रीमतीलाई डीभी पर्यो भन्दैमा श्रीमान्को अधिकार हनन गर्न पाईंदैन’ उनी भन्छन् । बास्तोला बरिष्ठ नेता खनाल र नेता नेपालको पक्षबाट अध्यक्षको टीकट हात पार्ने दाउमा लागेका छन् । तर, उनले त्यहाँबाट टीकट पाउने सम्भावना ५० प्रतिशत मात्रै छ ।
अनेरास्ववियुका अध्यक्ष बन्ने लाइनमा देखिएका चारजना आकांक्षिमध्ये मध्ये राजनीतिक, बैचारिक र सांगनिक क्षमता राख्नेमा बास्तोला एक्लै पर्दछन् । बाँकी तीन जनासँग राजनीतिक, बैचारिक र सांगठनिक क्षमता नै छैन भन्दा हुन्छ ।

महासचिव लामासँग अध्ययन कम छ । भाषिक शुद्धता छैन । पठनपाठनमा पनि कम रूची राख्छिन् । त्यसैले उनलाई अध्यक्ष बनाउनु हुँदैन भन्नेहरू अखिल भित्रै छन् । तर, उनी त्यो स्वीकार्दिनन् । ‘म लामो समय देखि अनेरास्ववियुमा छु । आन्दोलनको अग्रभागमा छु । उपाध्यक्ष र महासचिव भइसकेको छु । उपाध्यक्ष र महासचिव हुन योग्य हुने तर त्यही व्यक्ति अध्यक्ष हुन अयोग्य हुने भन्ने हुँदैन । यस पटक मलाई अध्यक्ष बन्नबाट कसैले रोक्दैन’ उनी भन्छिन् । लामा लाई उपाध्यक्ष बामदेव गौतमको पुरै समर्थन छ ।

त्यस्तै अर्का उपाध्यक्ष दीपक गौतम पनि अध्यक्षका प्रवल दावेदार हुन् । राजनीतिक, बैचारिक क्षमता सून्य प्रायः छ । आर्थिक अपचलनमा फस्ने, गैरकानूनी धन्दामा लाग्ने लगायतका विभिन्न आरोपहरू पनि उनी माथि पटक–पटक लाग्ने गर्दछन् । गौतम कोषाध्यक्ष हुँदा गैरकानूनी काममा संलग्न भएको भन्दै निलम्बनमा समेत परेका थिए । तर, त्यसवेला उनीमाथि लागेको आरोपको पुष्टि भएन र उनी पुनः संगठनमा सक्रिय भए । उनी काभ्रे जिल्ला कमिटी हुँदै १८ औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीमा चुनिएका हुन् । त्यसयता उनी अपराजित छन् ।

अर्का उपाध्यक्ष ऐन महर पनि अध्यक्ष बन्ने प्रतिष्पर्धामा अगाडि देखिएका छन् । पार्टी अध्यक्ष ओलीका विश्वासपात्र मानिने महर यस पटक कुनै हालतमा अध्यक्ष बन्ने बताउँछन् । यद्यपी संगठनमा उनको छवी राम्रो छैन । कहिले कार्यकर्ता कुट्ने त कहिले संगठन भित्र अराजकता मच्चाउने भन्दै उनलाई अध्यक्ष बन्न नदिने खेलमा संगठनका पूर्व अध्यक्ष देखि बर्तमान नेतृत्वसम्म कम्मर कसेर लागेको अखिल बृत्तमा चर्चा छ । त्रीचन्द्र गोली काण्ड देखि संगठनमा भाँडभैलो निम्त्याउन सम्म पछि नपर्ने महर अध्यक्ष भएमा संगठन कस्तो होला भनेर उनीहरू प्रश्न तेर्स्याउँछन् ।

यता महासचिव र उपाध्यक्षमा पनि राम्रै कसरत सुरू भएको छ । इमान्दार र कर्तव्यनिष्ठ छवी बनाएका जीवन राई खनाल–नेपाल समूहबाट महासचिवको उम्मेदवार बन्ने पक्का पक्कि जस्तै भएको एक नेता बताउँछन् । एक समय रक्षा पंक्तिका सिपाही मानिएका राई नेता नेपालका विश्वासपात्र नै हुन् ।उनलाई महासचिव बनाउन पूर्व अध्यक्ष राजेन्द्र राई आफै मैदानमा ओर्लिएका छन् । सचिव राधिका खतिवडा, अव्दुल हुसेन खाँ, लेखा आयोग प्रमुख निलकण्ठ आचार्य पनि महासचिवका दावेदार नै हुन् । कथमकदाचित बास्तोलाले अध्यक्षको टीकट नपाएमा खाँ लाई महासचिवमा सेटल गर्नुपर्ने बाध्यता आउन सक्छ तर त्यो सम्भावना न्यून मात्रै हो । खाँ लाई महासचिव बनाएर सुनिश्चित जस्तै महासचिव पद नेता नेपाल पक्षले गुमाउन नचाहने नेता नेपाल पक्षधर अर्का नेता बताउँछन् ।

त्यस्तै ओली पक्षबाट हेटौँडाका महेश वर्तौला, पोखराका रश्मी आचार्य लगायतको नाम चर्चामा छ । रश्मी अध्यक्ष किशोरविक्रम मल्लको विश्वासपात्र मानिएकाले उनैले टीकट पाउने सम्भावना प्रवल रहेको स्रोत बताउँछ । सचिवहरूमा नेपाल पक्षबाट दिनेश आचार्य, सुदेश पराजुली, कमल शाही लगायतको नाम चर्चामा छ भने ओली खेमाबाट टुंगो लागि नसकेको बताइएको छ ।

पदाधिकारी र सचिवालयमा दुवै पक्षको बराबर सदस्य रहेको र केन्द्रीय सदस्यमा थोरै मल्ल अघि भएकाले यसैले अध्यक्ष पद हत्याउने छ भन्न गाह्रो छ । तर पनि आफूले भनेको पदमा उम्मेदवारी दिन नपाए अन्तरधात गर्ने नेता कार्यकर्ताको रवैयाका कारण नेतृत्वमा उठेकालाई समस्या पर्न सक्छ । अघिल्लो पटक लक्ष्मण लम्साल– नविना खेमालाई परेजस्तै यसपटक नविना– ऐनलाई त्यो समस्या पर्न सक्ने र नेता नेपाल खनाल पक्षधरको पल्लाभारी हुने अड्कल काट्नेहरू पनि अखिल भित्र छन् । तर, त्यसका लागि भने महाधिवेशनसम्म कुनै पर्ने हुन्छ ।

सम्बन्धित शिर्षकहरु