एथेन्स । ग्रिसले अन्तर्राष्ट्रिय ऋणदातासँग ब्रसेल्समा भइरहेको वार्ताको नतिजाका विषयमा जुलाइ ५ मा जनमत सङ्ग्रह गर्ने घोषणा त्यहाँका प्रधानमन्त्री एलेक्सी सिप्रासले शनिबार गरेका छन् ।
उनले टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै जनताले स्वतन्त्र रूपमा जुलाइ ५ मा जनमत सङ्ग्रहमा भाग लिनसक्ने बताए ।
उनले त्यसअघि युरोक्षेत्रका अर्थमन्त्रीहरूसँग गम्भीर बैठक बसेका थिए । यसअघि ग्रिसले आउँदो मङ्गलबार ऋण तिर्न नसके ऊ युरोक्षेत्र र युरोपेली युनियनबाट पनि बाहिरसक्ने आशङ्का उब्जिएको थियो ।
अन्तर्राष्ट्रिय ऋणदाताहरूले शुक्रबार पाँच महिनाका लागि १२ अर्ब युरो बराबरको ऋणविस्तारको प्रस्ताव राखेका थिए । ग्रिसले उक्त प्रस्तावलाई अस्वीकार गरेको थियो ।
उनले ग्रिक टेलिभिजनमार्फत सम्बोधन गर्दै गत छ महिना ग्रिस सरकारले एउटा सक्षम सरकार तथा प्रजातन्त्रप्रति सम्मानका लागि सङ्घर्ष गरेको बताए।
उनले आफूहरूलाई मितव्ययीपनाको उपाय लागु गर्न, श्रम बजारलाई स्वतन्त्र बनाउन, निवृत्तिभरण कटौती गर्न तथा खाद्य उत्पादनमा मूल्यअभिवृद्धि कर लागु गर्न भनिएको र त्यसले ग्रिसका जनतालाई होच्याउने बताए ।
उनले अब आफूहरूले मुलुकको भविष्यको विषयमा निर्णय गर्ने जिम्मेवारी लिनुपर्ने देखिएको बताउनुभयो । उनले आफूहरूले भविष्यका पुस्ता भर पर्ने निर्णय गर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्रीको कार्यालयबाट बोलेका थिए । ग्रिसका अर्थमन्त्री यानिस वारूफकिसले ट्विटमा युरोसम्बन्धी विषयमा प्रजातान्त्रिक प्रक्रिया बलियो बनाइनुपर्ने, आफूहरूले यो कुरा दिएको र अव जनताले निर्णय गर्नुपर्ने बबताए।
ऋणदाता – युरोपेली आयोग, युरोपेली केन्द्रीय बैङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण तिर्न असफल हुन नदिन ग्रिसले सम्झौतामा हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।
गिस सरकाले जमानत विस्तारका साथमा माग गरिएको सुधार मन्दीकारी हुने र कोष पनि अपर्याप्त हुने बताएको छ ।
जनमत सङ्ग्रहको घोषणाका सम्बन्धमा ब्रसेल्समा युरोक्षेत्रमा वार्ता कायम रहने एक अधिकारीले बताए ।
जर्मन चान्सलर एङ्गेला मर्केलले एथेन्सलाई असाधारण उदारता देखाइएकाले उसले स्वीकार गर्नुपर्ने बताउनुभयो । राससरएएफपी








