नयाँ संविधानको प्रारुप यस्तो छ

CA-buildingअसार १२। काठमाडौँ, संविधानसभाको मस्यौदा समितिअन्तर्गत कार्यदलले नयाँ संविधानको मस्यौदा शुक्रबार समितिलाई बुझाएको छ। राति साढे ९ बजे समितिलाई बुझाइएको मस्यौदाअनुसार नयाँ संविधान ७ अनुसूची, ३७ भाग, २ सय ९४ धारासहित १२१ पृष्ठको हुनेछ। १५ दिनभित्र मस्यौदालाई अन्तिम रुप दिने कार्यादेश पाएको समितिले असार १३ अर्थात् म्यादभित्रै संविधान तयार गर्ने समितिका सभापति कृष्णप्रसाद सिटौलाले जानकारी दिए।

‘संविधानको मस्यौदा तयार भएको छ, समितिमा शनिबारबाट दफाबार छलफल भई म्यादभित्रै यसले अन्तिम रुप लिन्छ,’ सिटौलाले बैठकमा भने।

‘मस्यौदामा धारणा राख्दा सदस्यहरुले व्यक्तिगतभन्दा पनि पार्टीगत धारणा राख्नेगरी पार्टीमा तयारी गर्न भनेको छ,’ सिटौलाले भने।

समितिको बैठक शनिबार १ बजे बस्ने सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए।
संविधानको मस्यौदा प्रति सबै सदस्यलाई शुक्रबारै बाँडिएको छ। संवाद समितिले केही विषयमा थाती विवाद मिलाएर मस्यौदालाई अन्तिम रुप दिने जिम्मा समितिलाई दिएकोमा केही विषय भने अझै मिल्न बाँकी छन्।

स्रोतका अनुसार कार्यदलमा नागरिकतासम्बन्धी विषय मिलेको छ। जसअनुसार बाबुआमा दुवै नेपाली भएकाले वंशजका आधारमा नागरिकता पाउनेछन्। बाबु वा आमामध्ये एक विदेशी हुनेले भने अंगीकृत नागरिकता पाउने सहमति जुटेको छ।
पहिलो संविधानसभामा सहमति जुटेको र दोस्रोले स्वामित्व ग्रहण गरेको स्थानीय निकायमा विशेष स्वायत्त र आरक्षित क्षेत्रबारे मस्यौदा कार्यदलमा सहमति उल्टिएपछि एमाओवादीले ध्यानाकर्षण दर्ता गराएको छ। त्यसबारे धारणा बनाउन एमाओवादीको सिंहदरबारमा राति अबेरसम्म बैठक बसेको थियो।

कार्यदलमा प्रादेशिक सभा निर्वाचन पनि मिश्रित समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने सहमति भएको छ तर अनुपात कति हुने भन्ने टुंगो लागेको छैन। प्रादेशिक सभा २१ देखि ४५ सदस्यसम्मको रहनेछ।

स्थानीय निकायको मोडलमा पनि सहमति जुटेको छ । जसअनुसार ७५ जिल्ला कायमै राखिनेछ भने त्यसको नाम जिल्लापालिका रहनेछ। त्यसैगरी नगरपालिका र गाउँपालिका स्थानीय निकाय रहनेछन्। गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित ४७ सदस्य रहनेछन्। जसमा प्रत्येक वडाबाट दुई महिलासहित ५ सदस्य निर्वाचित हुनेछन्।
संविधान जारी भएपछि संवैधानिक निकायमा पुनर्नियुक्तिबारे भने अझै सहमति जुट्न सकेको छैन। नेपाली कांग्रेस पुनर्नियुक्ति गर्न नहुने पक्षमा छ।

संविधानसभाको बैठक असार १४ गते १ बजे बस्दैछ। त्यसअघि नै संविधानको मस्यौदालाई अन्तिम रुप दिइने सभापति सिटौलाले जानकारी दिए। फरक मत निरन्तर राख्दै सहमति खोजिने उनले बताए।  एकीकृत माओवादी स्रोतका अनुसार मिल्न नसकेका विषयमा पार्टीको फरक मत राखेरै संविधान जारी गर्न दिने गरी पार्टी अघि बढेको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु