असार ३ । अष्ट्रेलिया, जुलार्इ चारमा हुन लागेको प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियामा स्वतन्त्रसहित दुई प्यानल चुनावी मैदानमा होमिएका छन् । सहमतीबाट नेतृत्व चुनिनुपर्नेमा राजनीति रुपमा अभिप्रेरित रहेर प्यानल बनाइएको भन्दै अष्ट्रेलियाबासी नेपालीले रोष प्रकट गर्न थालेका छन् ।
एनआरएनमा पुर्व आइसिसी सदस्य सुरेन्द्र सिग्देलको नेतृत्वमा टोनु घोताने महासचिव रहेको एक प्यानल र वर्तमान महासचिव भरत पोखरेलको नेतृत्वमा स्वतन्त्रप्रताप शाह महासचिव रहेको अर्को प्यानल बनाएर उम्मेदवारी दर्ता गरिएको छ भने मेलबर्नबाट अध्यक्षका लागि ऋषि कंडेलले समेत उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दिएका सबैले सहमतीमा जोड दिएपनि अहिलेको अवस्थामा सहमती हुने सम्भावना भने कम रहेको बताइएको छ ।
एनआरएनको विश्व संगठनमा नै महत्वपुर्ण हैसियत राख्ने अष्ट्रेलिया एनआरएनका दुबै अध्यक्षका प्रत्यासीहरुले भुकम्पपीडितहरुको सहयोगलाई प्राथमिकतामा राखेका छन् । अध्यक्षका प्रत्यासी पोखरेलले उक्त कार्य बाहेक कार्यालय स्थापना, अहिले चालु रहेका योजनाहरुको निरन्तरता, विद्यार्थीहितका लागि विभिन्न कार्यक्रम र मिडिया सेन्टरको अवधारणा सार्वजनिक गरेका छन् ।
अर्का अध्यक्षका प्रत्यासी सिग्देलले भने नेपालका भुकम्पपीडितका लागि न्युनतम २ सय घर बनाउन आफुले पहल गर्ने बताए । यसका साथै बिद्यार्थीका लागि सामाजिक कोष, नेपालका दुर्गम भेगमा रहेका दलित र आदिवासी विद्यार्थीहरुलाई छात्रवृति र एनआरएनका कार्यहरुको निरन्तरता लगायतका योजना सार्वजनिक गरेका छन् ।
अर्का प्रत्यासी कडेलले भुकम्पपीडितहरुको लागि आधुनिक गाउको निर्माण, एनआरएनमा राजनैतिक विचारको अन्त्य, विद्यार्थीको लागि हेल्प डेस्क, बिभिन्न सामाजिक कमिटी लगायतका एजेण्डाहरु सार्वजनिक गरेका छन् । ‘जे गर्ने भएपनि हामीले नेपाली समुदायको लागि नै गर्ने हो । कडेलले भने, मुख्य रुपमा हामीले एनआरएनबाट राजनैतिक सोचको अन्त्य गर्नुपर्छ ।’
यसबर्ष बिद्यार्थीहरुलाई एनआरएनको सदस्यता नदिने बतँइएपछि सदस्य संख्या तुलनात्मक रुपले कम भएको छ । चुनावी प्रतिष्पर्धामा जाने भएपछि ५ जना आइसिसी सदस्यका लागि समेत १० जनाको उम्मेदवारी परेको छ । उक्त पदका लागि केशव सापकोटा, बालचन्द्र भट्टराई, चुडामणि बेल्बासे, सिके भुसाल, राजु अधिकारी, दीपक भट्टराई, इश्वर कुईंकेल, प्रकाश जिसी, विवेक अर्याल र दिक्पालदेव पंगेनीले उम्मेदवारी दिएका छन् ।
एनआरएन केन्द्रिय कमिटीका अन्य पदहरु कोषादक्ष्यमा डिला खरेल, प्रकाश सापकोटा, सहसचिव भिष्म भण्डारी, सरोज शर्मा र युवा संयोजकमा विजय चापागाई र सचिन्द्र थापा रहेका छन् ।
यसैगरि बिभिन्न राज्य संयोजकहरु सिड्नीमा दिनेश पोखरेल र हरि राम्जाली, ब्रिसबनमा अभिमानसिंह बस्नेत र शम्भु सिम्खडा पर्थमा राज थपलिया, रविन रावल र आङदवा ज्याङ्गबु शेर्पा एडिलेडमा नविन कडेल र गोबिन्द रानाले उम्मेदवारी दिएका छन् । मेलबर्नबाट केशव कडेल, क्यानबेराबाट युवराज खनिया सर्वसम्मत चयन भइसकेका छन् ।







