जेठ, १४ । तनहुँ, महाभुकम्प पीडितहरुका लागि अस्थायी घर टहर निर्माण गर्ने अभियानमा जुट्नु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको टोलीले तनहुँको मान्द्रेमा २८ वटा अस्थायी घर टहरा निर्माण गरेको छ । इन्जिनियर तथा प्राविधिक सहित, अन्य स्वयंसेवक र स्थानीय बासिन्दाको सहयोगमा टोलीले बुधवार अबेर सम्म सक्रिय रही अस्थायी घर टहरा निर्माण गरेको हो ।
यसका लागि स्थानीय बासिन्दाले आवश्यक काठपात तथा बाँस उपलब्ध गराएका थिए भने दाता श्याम केसीले २० बण्डल जस्तापाता उपलब्ध गराउनु भएको थियो । यसैबीच पौडेलले तनहुँको फिरफिरे, अरुणोदय, माझकोट सहित ८ गाविस र शुक्लगण्डकी नगरपालिकामा राहत सामाग्री उपलब्ध गराउनु भएको छ । काठमाडौ विश्वविद्यालयका विश्व पौडेल र अमेरिकाको टेक्सासमा बस्दै आउनु भएका किरण पौडेलको सहयोगमा उहाँले पीडितहरुलाई ११ सय बोरा चामल, १६ सय थान पाल, २२ सय थान झुल सहित आवश्यक औषधिहरु उपलब्ध गराउनु भएको हो ।
राहत सामाग्री उपलब्ध गराउन पौडेललाई स्थानीय कांग्रेस नेता डेकबहादुर गुरुङले सहयोग गर्नु भएको थियो । पौडेल नेतृत्वको टोलीले अब शुक्रवार सिन्धुपाल्चोकको धुस्कुन गाविस स्थित खाकीलुङ, सल्लेकेपा, निगाले र भापरचौरमा ८४ वटा अस्थायी घर टहर निर्माण गर्नेछ । यस्का लागि कम्युनिटी सर्भिस अफ नेपाल गोदावरीका माधव भण्डारीबाट आर्थिक सहयोग प्राप्त भएको छ । त्यस्तै नुवाकोटको महाकाली र कविलास गाउँमा ९० घर टहर निर्माणका लागि सनत अधिकारीको आर्थिक सहयोग प्राप्त भएको पौडेलले बताउनुभयो । पौडेल नेतृत्वको टोलीले गत साता गोर्खाको पालुङटारस्थित उपल्लो मालती गैरामा ५३ र रामछेपाको भीरपानीमा ३० वटा अस्थायी घर टहरा निर्माण गरेको थियो । नेविसंघका केन्द्रीय अध्यक्ष समेत रहिसक्नु भएका पौडेलले दाता, स्थानीय बासिन्दा तथा शुभचिन्तकको सहयोगमा महाभुकम्प पीडितहरुका लागि ५ सय अस्थायी घर टहर निर्माण गर्ने घोषणा गर्नु भएको थियो ।








