जेठ ३ ।काठमाडौँ,पटक पटकको भूकम्पको धक्काले वृद्धाश्रम चर्किएपछि पशुपति क्षेत्रमा रहेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, समाज कल्याण केन्द्रका वृद्धवृद्धाहरु अलपत्रमा परेका छन । भूकम्पले वृद्धाश्रमको सबैजसो भाग बस्नै नमिल्ने भएपछि उनीहरुको अवस्था झन् दयनीय बन्न पुगेको हो ।त्यहाँ रहेका २३० ज्येष्ठ नागरिकलाई खाना पकाउने र खुवाउने स्थानमा सारिएको छ ।
लामो समयदेखि वृद्धाश्रममा नै आश्रय लिइरहेका वृद्धवृद्धालाई यो भूकम्पले निकै सास्ती दिएको छ । राम्ररी हिँड्डुलसमेत गर्न नसक्ने उनीहरु भूकम्प आउँदा झन समस्या परेको छ । यहाँ रहेका वृद्धवृद्धाहरु कोही कान नसुन्ने, कोही आँखा देख्न नसक्ने,कोही बिरामी रहेको हुँदा झनै उनीहरुलै जोगाउन कठिन भएको वृद्धआश्रमका सेवकहरु बताउछन । आश्रमका दृष्टिविहीन ७२ वर्षीय लीलाबहादुर राउतलाई भूकम्पले झन् आतङ्कित पारेको छ । बस्ने ठाउँको अभाव भएकाले बारम्बारको भूकम्पको धक्काले झन् समस्यामा पार्ने हो कि भन्ने चिन्ता लागेको उहाँले बताउनुभयो ।
वृद्धाश्रमका प्रमुख मनोजकुमार बस्नेतले वृद्धाश्रमको सबैजसो भाग बस्नै नमिल्ने गरी भत्किएको र दक्षिणपट्टिको भाग सुरक्षित भनिए पनि त्यहाँ टेको लगाएर अड्याइएको उहाँले बताउनुभयो । वृद्धाश्रमको चउरमा राख्ने भनिएपछि ज्येष्ठ नागरिकको स्वास्थ्यलगायतको अवस्था प्रतिकूल रहने भएकाले त्यसो गर्न नसकिएकाले जस्ताले बारेर भए पनि खाना पकाउने ठाउँमा नै उहाँहरुलाई राखिएको बस्नेतले बताउनुभयो ।








