देशभर ठूला शहरमा फैंलदैछ कोरोना, काठमाडौं महानगरको कुन वडामा कति संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा बढ्दै गएको छ। पछिल्लो केही समययता दैनिक चार सयभन्दा बढी नयाँ संक्रमित थपिँदै गएका छन भने जसमा अधिकांश काठमाडौं महानगरका छन्।

आइतबार बिहानसम्म काठमाडौं महानगरपालिकामा कोरोना संक्रमणको संख्या पाँच हजार एक सय ६० पुगेको छ। म्हानगरको तथ्यांकअनुसार उनीहरुमध्ये एक हजार ६ सय ८६ जना होम आइसोलेसनमा, चार सय १६ जना अस्पतालमा र एक हजार तीन सय तीन जना संस्थागत आईसोलेसनमा रहेका छन्।

काठमाडौंमा रहेका कुल संक्रमितहरुमध्ये अहिलेसम्म एक हजार दुई सय ९७ जना निको भईसकेका छन् भने ३३ जनाको मृत्यु भएको छ। यस्तै काठमाडौंमा रहेका चार सय २५ जना संक्रमितहरुको भने कुनै पनि विवरण खुल्न सकेको छैन। अहिलेसम्म तीन हजार चार सय पाँच जना सक्रिय संक्रमित रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ। काठमाडौंको ३२ वटा वडामध्ये सबैभन्दा बढी संक्रमित वडा नम्बर १५ मा रहेका छन्। यो वडामा संक्रमितको संख्या चार सय ७७ रहेको छ।

जसमध्ये एक जनाको मृत्यु भईसकेको छ भने ४२ जना निको भएका छन्। अहिले यस वडामा सक्रिय संक्रमितको संख्या चार सय ३४ रहेको छ। यस्तै दोस्रो नम्बरमा वडा नम्बर १६ रहेको छ। यहाँ अहिलेसम्म तीन सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ८६ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ।

यस वडामा अहिले दुई सय ९९ जना सक्रिय संक्रमित रहेका छन्। तेस्रो नम्बरमा वडा नम्बर ३ रहेको छ। यहाँ तीन सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसध्ये एक सय २९ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ। अहिलेसम्म यस वडामा सक्रिय संक्रमितको संख्या दुई सय दुई रहेको छ। कोरोना संक्रमित धेरै भेटिएको वडाहरुमध्ये चौथो नम्बरमा वडा नम्बर ३२ रहेको छ। यस वडामा अहिलेसम्म दुई सय ८७ जना कोरोना संक्रमित भेटिएका छन्।

जसमध्ये निको हुनेको संख्या एक सय नौ रहेको छ भने दुई जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या भने एक सय ७६ रहेको छ। यस्तै पाँचौँ नम्बरमा वडा नम्बर १३ रहेको छ। यहाँ दुई सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एक सय जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ। यस्तै अहिलेसम्म सक्रिय संक्रमितको एक सय ७२ रहेको छ। काठमाडौं महानगरका ३२ वटा वडामध्ये ६ वटा वडामा ५० भन्दा कम संक्रमित भेटिएका छन्।

जसमध्ये वडा नम्बर १९ मा २१ जना, वडा नम्बर २० मा २७ जना, वडा नम्बर १८ मा ३० जना, वडा नम्बर २ मा ३६ जना, वडा नम्बर २४ मा ४० जना र वडा नम्बर २२ मा ४९ जना कोरोना संक्रमित भेटिएका छन्। यस्तै वडा नम्बर २७ मा अहिलेसम्म सबै भन्दा धेरै मानिसको मृत्यु भएको छ।

काठमाडौं महानगरमा कोरोनाका कारण ३३ जनाको मृत्यु भएको छ भने वडा नम्बर २७ का चार जनाको मृत्यु भएको छ। यसैगरि, वडा नम्बर २, ८, १४ लगायत १० वटा वडाहरुमा अहिलेसम्म कोरोनाबाट कसैले ज्यान गुमाउनु परेको छैन।

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि महनगरले कन्ट्याक्ट ट्रेसिङमा जोड दिएको छ। कोरोना संक्रमितको संख्या धेरै रहेको वडाहरुलाई प्राथमिकतामा राखेर कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ। अहिलेसम्म १० हजार नौ सय २३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको महानगरले जनाएको छ।

सम्बन्धित शिर्षकहरु