साउन ४, काठमाडौं । अब साधारण सेयर (आइपिओ) भर्न घरबाटै इन्टरनेटको माध्यमबाट आफुले चाहेको कम्पनीको आइपिओ भर्न सकिने भएको छ । पुँजी बजारको नियामक बोर्डले आस्वा प्रणाली अनिवार्य गरेसँगै यो व्यवस्था लागु भएको हो । इन्टरनेटको माध्यमबाट आवेदन फारम भर्दा केही कुरा मिस्टेक भएको खण्डमा सफ्टवेयरले नै जानकारी गराउने छ । धितोपत्रको केन्द्रिय निक्षेप प्रणाली (सिडीएस) ले ‘सेन्ट्रलाइज्ड आस्वा’ ल्याएको छ । अहिलेलाई भने नेपाल इन्भेष्टमेन्ट बैंक, एसबिआई बैंक, ग्लोबल आइएमइ बैंकबाट घरमै बसेर आइपिओ भर्न सकिने र आगामी दिनहरु अरु बैंकहरुले पनि यो सुविधा दिने बताईएको छ । एकजना आवेदकले एउटा निस्कासनमा एक पटकमात्र आबेदन दिन सकिने छ । दुई पटक आवेदन दिनु खोजेमा भने सिस्टमले आवेदन रिजेक्ट गर्नेछ ।
अावेदन दिन पहिला आस्वाको पूर्णसेवा दिइरहेका बैंकहरुको इन्टरनेट बैंकिङ सेवा सक्रिय गर्न पर्नेछ । इन्टरनेटको माध्यमबाट सम्बन्धित बैंकको इन्टरनेट बैंकिङ लग इन गरी आइपिओ जारी गर्ने कम्पनीको नाम पाइपलाइनमा देख्न सकिनेछ । कम्पनीको कति कित्ता सेयर किन्ने हो त्यो अनलाइनमार्फत नै अर्डर गर्न सकिन्छ । अर्डर गर्ने बेलामा बैंक खातामा भएको रकम बारे पूर्णरुपमा जानकारी राख्नुपर्दछ । आवेदनमा आफ्नो डिम्याट एकाउन्ट र बैंक एकाउन्ट नं. अनिवार्यरुपमा लेख्नुपर्ने छ । १० लाख माथिक सेयर आवेदनका लागि भने अनिवार्यरुपमा प्यान नम्बर पनि उल्लेख गर्नुपर्ने हुन्छ ।
मानौं तपाईंको बैंक खातामा १ लाख रुपैयाँ छ तर तपाई ५० हजार रुपैयाँको मात्रै सेयर किन्न चाहनु हुन्छ भने त्यहाँ ५० हजार मूल्य र यति कित्ता भनेर लेख्नुपर्ने हुन्छ । यसरी लेखिसकेपछि समिट गर्नुहोस् । समिट गरिसकेपछि तपाईंको आवेदन सिस्टममा जान्छ र सेयर बाँडफाँड नभएसम्म तपाईंको खातामा भएको १ लाख रुपैयाँमध्ये ५० हजार रुपैयाँ अटोमेटिक ब्लक हुन्छ । ब्लक भएको रकम तपाईंले सेयर बाँडफाँड नभएसम्म झिक्न पाउनुहुन्न ।








