राष्ट्रपति डा रामवरण यादवले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारभित्रका विभिन्न सरकारी निकायको स्थलगत निरीक्षण गर्नुभएको छ ।राष्ट्रपति डा यादवले भूकम्पबाट क्षतिग्रस्त भएका सिंहदरबार परिसरका विभिन्न मन्त्रालय तथा निकाय, सर्वोच्च अदालत र महान्याधिवक्ताको कार्यालयमा पुगी भवनमा भएका क्षति र त्यसपछि भइरहेको कार्यसम्पादनको अवस्थाबारे आइतबार जानकारी लिनुभएको हो ।
निरीक्षणका क्रममा राष्ट्रपतिलाई भूकम्पबाट सिंहदरबारमा भएका विभिन्न मन्त्रालय र निकायमा भएको क्षति र त्यसपछि कार्यालय सञ्चालनको अवस्थाका बारेमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सरकारका मुख्यसचिव लीलामणि पौड्याललगायतले जानकारी गराउनुभएको थियो ।
राष्ट्रपति यादवले भूकम्पबाट क्षति भएको सिंहदरबार पश्चिम ढोका, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, युवा तथा खेलकुद, सामान्य प्रशासन, उद्योग र वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्यालेरी बैठकलगायत निकायका भवनमा पुगी निरीक्षण गर्नुभएको छ ।
त्यस्तै, सर्वोच्च अदालतमा भूकम्पबाट भएको क्षति र कार्यालय सञ्चालनका बारेमा प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले जानकारी गराउनुभएको थियो भने निमित्त रजिष्टार श्रीकान्त पौडेलले सर्वोच्च अदालत र मातहतका अन्य अदालतमा भएका भूकम्पबाट भएको क्षतिका सम्बन्धमा विस्तृत जानकारी गराउनुभएको थियो ।
यसैगरी राष्ट्रपति डा यादवसमक्ष महान्याधिवक्ता बाबुराम कुँवरले आफ्नो कार्यालयमा भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी गराउनुभएको थियो ।








