भदौ ८, काठमाडौँ – हाम्रो समाजमा केहि समय अघि सम्म केटाले केटि जिस्क्याउने कुरालाई स्वभाभिक र प्राकृतिक रुपमा लिने गरिन्थ्यो । तर महिला अधिकारको बिषयमा जनचेतनामा उल्लेख्य बृद्दी संगै अब यो कुरा सामान्य र स्वभाभिक रहेन । युवती जिस्क्याउने कुरा अपराध हो भन्ने चेतना जागृत भए संगै यस्ता घटनाका बारेमा प्रहरीमा उजुरी गर्ने क्रम पनि बढेको छ । प्रहरी प्रशासनले पनि यस्ता घटनालाई गम्भीर रुपमा लिदै मुद्दा दायर समेत गर्न थालेको छ ।
काभ्रे प्रहरीले आफुलाई महिला सम्बेदनशील भएको कुरा प्रस्ट पर्दै युवती जिस्काउने दुई युवामाथि मुद्दा दायर गरेको छ । धुलिखेल बसपार्कमा सवारी साधन कुरेर बसेका युवतीहरुलाई जिस्काउने धुलिखेल २ का गगन भन्ने १९ बर्षे गंगाराम व्याञ्जु र सिन्धुपाल्चोक बासवारी ७ का २१ बर्षे सिर्जन श्रेष्ठमाथि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु लामिछानेले बताउनु भएको छ ।
काभ्रे प्रहरीले जिल्लामै पहिलो पटक युवती जिस्काउनेमाथि मुद्दा चलाएको हो । पीडित युवतीहरुले उजुरी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।








