बुक बिल्डिङ विधि लागू, संगठित संस्थाले अब बोल कबोलमार्फत आईपीओ जारी गर्ने

काठमाडौं । अंकित मूल्यभन्दा बढी (प्रिमियम) मा साधारण सेयर निष्कासन (आईपीओ) गर्न पाउने व्यवस्था कार्यान्वयनमा आएको छ ।

धितोपत्र बोर्डले बुक बिल्डिङ विधि लागू गरेसँगै उक्त व्यवस्था कार्यान्वयनमा आएको हो ।

यो विधिमा आवेदन दिने र बाँडफाँड हुने धितोपत्रको न्यूनतम संख्या समेत ५० हुनेछ । संगठित संस्थाले अब बोल कबोलमार्फत आईपीओ जारी गर्ने सक्नेछन् ।

बोर्ड सञ्चालक समितिको साउन २२ गतेको निर्णयअनुसार बुधबारदेखि त्यस्तो निर्देशिका जारी गरिएको बोर्डले जनाएको छ ।

‘बुक बिल्डिङ’मा आईपीओ जारी गर्ने संगठित संस्थाले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको परामर्शमा धितोपत्रको अनुमानित मुल्य र मुल्यांकनकोआधार औचित्य खुलाइ विवरणपत्र तयार गरी योग्य लगानिकर्तासँग छलफल गर्नुपर्ने बोर्डले जनाएको छ ।

यो निर्देशिकासँगै वर्षौंदेखि सञ्चालनमा रहेका तथा ठूलो सिञ्चित कोष भएका पब्लिक कम्पनीहरुका लागि प्रिमियम मूल्य राखेर आईपीओ निष्कासन गर्ने बाटो खुला भएको छ । यसले त्यस्ता कम्पनीहरु दोस्रो बजारको पहुँचमा आउने अपेक्षा बोर्डले गरेको छ ।

बुक विल्डिङ विधिबाट सेयर बिक्री गर्नका लागि सेयरको अनुमानित मूल्य तथा मूल्यांकनका आधार र औचित्य खुलाइएको प्रारम्भिक विवरणपत्र तयार पारेर योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम (रोड शो) सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम सेयर संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने भएको छ ।

एउटा संस्थागत लगानीकर्ताले कुल निष्कासित सेयरको २० प्रतिशत भन्दा बढीका लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाउने भएको छ ।

संस्थागत लगानीकर्ताका लागि बिक्री गर्दा कायम भएको कट अफ मूल्यका आधारमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिनेछ । जसमा संस्थागतमा कायम कट अफको १० प्रतिशत छुटमा बिक्री गरिनेछ ।

सम्बन्धित शिर्षकहरु