जाजरकोटमा विषालु च्याउ खाँदा पाँच जनाको मृत्‍यु

सुर्खेत । जाजरकोटमा कुशे गाउँपालिका-१ स्याक्रीमा विषालु च्याउ खाएर पाँच जनाको मृत्‍यु भएको छ । च्याउको तरकारी खाएर गम्भीर बिरामी परेका ३२ वर्षीय ललित चलाउनेको बिहीबार राति कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जंगली च्याउको तरकारी पकाएर खाएका कारण अहिले सम्म चलाउने सँगै मृत्‍यु हुनेको संख्या पाँच पुगेको हो ।

उनीहरुको ललितको प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भईहरेको थियो । उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको हो ।
प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलका अनुसार बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र दुईजनाको अवस्था सामान्य रहेको छ ।

समयमै अस्पतात ल्याएर उनीहरुको उपचार गर्न नसकेको कारण च्याउको विषले धेरै असर गरिसकेको हुँदा बचाउन नसकिएको उनको भनाइ छ ।

यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए । बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा प्रदेश अस्पतालमै मृत्यु भएको थियो ।
३ वर्षीया छोरी अञ्जनाको भने सोमबार गाउँमै मृत्यु भएको थियो ।

सोही घरका घरमुली टेकबहादुर चलाउने, उनकी बुहारी ३० वर्षीया कल्पना र छोरी पशुपति चलाउनेको अवस्था भने सामान्य रहेकोले घरमै उपचार भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु