आज नेपाल अधिराज्यभर भीषण वर्षा हुने,बाढी पहिरोको जोखिम बढ्दै

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको आज देशभर भीषण वर्षा हुने सम्भावना रहेको छ ।

सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्क रहन सबैलाई आग्रह गरिएको छ ।

महाशाखाको अनुसार शनिबार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशको १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टामा देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

अविरल वर्षाका कारण अधिकांश नदीको सतह बढ्दै गएको छ । सप्तकोसीमा बाढी बढेपछि भारततर्फका ३८ ढोका खोलिएका छन् ।

कोसीको बाढीले सतर्कता तह पार गर्दै खतराको तहतर्फ बढ्दै गरेको बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलले बताए । कोसीको जल सतह शुक्रबार दिउँसो ६.२३ मिटरमाथि पुगेको छ । ७ मिटर यसको खतराको तह हो ।

चितवनको नारायणी नदीमा पनि बहाव बढ्दै गएको छ । नारायणीको बाढीले सतर्कताको तह पार गरेर खतरातर्फ अगाडि बढेको छ ।

नारायणीकै देवघाटस्थित स्टेसनमा सतर्कता तह पार गरेर ७.६८ मिटरमाथि बहाव भइरहेको छ ।

त्यसैगरि कञ्चनपुरको शान्तिपुर बेलौरी, नवलपरासीको डण्डा, परासी बर्दघाट, चितवनको माडी, लमजुङको बेसीसहर क्षेत्रमा भारी वर्षा भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

अबका ३ दिन कन्काई, कमला, कोसी, कमला, बाग्मती, लालबकैया, नारायणी लगायतका नदीमा उच्च बहाव हुने भएकाले तटीय क्षेत्रमा सतर्क हुन भनिएको छ ।

सम्बन्धित शिर्षकहरु