लकडाउन अवधिको घरभाडा छुट नपाएपछि सिभिल मलका व्यापारीहरु धर्नामा

काठमाडौं ।लकडाउन अवधिको घरभाडा छुट नपाएपछि काठमाडौंको सुन्धारामा अवस्थित सिभिल मल सपिङ कम्प्लेक्सका व्यापारीहरुले
पसलको तालाचाबी मल सञ्चालकलाई बुझाएका छन् ।

व्यवसायीहरुले मल संचालक समाक्ष पूर्ण लकडाउन अवधिको भाडा शत प्रतिशत छुटको माग राखेका थिए । यस बिषयमा व्यवसायी र मल सञ्चालकबीच भएको छलफल निष्कर्षमा नपुगेपछि शुक्रबार १०५ जना व्यवसायीले मल सञ्चालक लालकाजी गुरुङलाई तालाचाबी बुझाएका हुन् ।

सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले पेट पाल्नै नसकिने अवस्थामा पनि मल सञ्चालकले भाडा मागेर मानसिक तनाव दिएकाले चाबी बुझाएको बताए ।

झण्डै ३ महिनासम्म भएको लकडाउनलाई शून्य समय मानेर भाडा मिनाहा गर्न व्यवसायीले आग्रह गरे पनि मल सञ्चालकले अस्वीकार गरेका थिए ।

मल सञ्चालकले व्यापारीहरुलाई पत्राचार गरी चाँडै भाडा भुक्तानी गर्न दवाब दिएको थियो । मलमा मासिक ८ लाख रुपैयाँसम्म भाडा तिर्ने व्यवसायी रहेका छन् ।

मल सञ्चालकले पूर्ण लकडाउन भएको अवधिको ५० प्रतिशत भाडा छुट गर्ने जनाएको छ । तर उक्त भाडा २५ असारमा तिर्नुपर्ने म्याद दिएको थियो ।

भाडा बुझाउने म्याद सकिदा सम्म शुन्य व्यापार भएकोले व्यवसायीले पूर्ण लकडाउन अवधिको भाडा शत प्रतिशत छुट हुनुपर्ने माग गर्दै सिभिल मल अगाडि धर्ना दिएका छन् ।

पूर्ण लकडाउन अवधिको भाडा शतप्रतिशत छुट नभएसम्म आन्दोलन जारी राखिने अध्यक्ष घिमिरेले बताए ।

सम्बन्धित शिर्षकहरु