गुरु पूर्णिमा/व्यास जयन्ती/ गुरुको महत्त्व के हो ? राजन लोहनी

॥ ॐ श्री परमात्मने नमः॥

॥ ॐ श्री गुरुभ्यो नमः ॥

आज गुरुपूर्णिमा तथा व्यास जयन्ती यसको विषयवस्तु प्रवेश गर्नु पूर्व केही गुरु स्तुति र तिनको सामान्य अर्थ राख्न चाहन्छु |

“गुरुर्ब्रह्मा  गुरुर्विष्णु:  गुरुर्देवो महेश्वरः ॥

गुरुः साक्षात्परब्रह्म तस्मै श्रीगुरवे नमः” ॥

अर्थात्— गुरु सृष्टिकर्ता ब्रह्मा, संरक्षक विष्णु र विनाशक महेश्वर समान हुनुहुन्छ | त्यसैले गुरु नै ब्रह्मा, गुरु नै विष्णु, गुरु नै महेश्वर र गुरु नै साक्षात् परब्रह्म हुन् । त्यसैले गुरुलाई नमस्कार छ ।

ब्रह्मा, विष्णु र महेश्वरलाई त्रिदेव भनिएको छ । यी त्रिदेव नै क्रमशः संसारको सृष्टि, स्थिति र संहारकर्ता हुन् भन्ने हामीले मान्छौँ । एउटै गुरुसँग त्रिदेवको सामर्थ्य छ र जिम्मेदारी पनि हुन्छ । सिङ्गो संसारको जसरी सृष्टि, स्थिति र प्रलय हुन्छ उसै गरी एक मानिसको जीवन जन्म, वृद्धिविकास र मृत्युका तीन चक्र हुन्छन् । मानिस वा सजीव प्राणी मात्रै होइन, भौतिक वस्तुको पनि गति उस्तै हो । गुरुको गुरुता केवल मानिसको जीवन, प्राणीजगत् र भौतिक वस्तुमा समेत अर्थपूर्ण रहन्छ तर त्यसको बोध र व्याख्या गर्ने केवल मानिस मात्रै हो । मानिसले त्यसतर्फ बुझ्ने प्रयास गरेन भने मानिसका रुपमा परिभाषित हुन सक्तैन ।

 

“अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् ।

तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः” ।।

अर्थात्— जसबाट अखण्ड मण्डलका रुपमा रहेका चराचर समेतलाई ओगटेको छ त्यस महान् स्थानलाई जसले साक्षात्कार गराउनुभयो ती गुरुलाई अभिवादन गर्दछु ।

“ध्यानमूलं गुरुर्मूर्तिः पूजामूलं गुरुर्पदम् ।

मन्त्रमूलं गुरुर्वाक्यं मोक्षमूलं गुरुर्कृपा” ॥

अर्थात्— ध्यानको मूल गुरुको प्रतिमा हो, पूजाको मूल गुरुको चरण हो, मन्त्रको मूल गुरुको वाणी हो, साथै मोक्षको मूल गुरुकृपा हो |

गुरु गोरखनाथ भन्नुहुन्छ—

“सुणौ हो नरवै सुधि बुधि का विचार, पंच तत ले उतपनां सकल संसार  ।१।

पहलै आरम्भ घट परच करौ निसपति, नरवै बोध कथंत श्रीगोरषजती” ।२।

अर्थात्— हे मानिसहरु, सुन र सुझबुझ लगाएर विचार गर । यो संसार पञ्चतत्वले उत्पन्न भएको छ । पहिले आफ्नै शरीरलाई चिन, परीक्षण गर र बुझेको कुरा मात्र गर |

हामी सबैको भित्रपनि एउटा गुरुतत्त्व  रहेको छ र सत्यलाई आत्मसाथ गर्नसके गुरुतत्त्व  सदैव उपस्थित रहिरहन्छ । जिन्दगीले हरेक मोडमा हामीलाई केहि न केहि सिकाएरै जान्छ तसर्थ हरेक पाठलाई आत्मसाथ गर्नसके गुरुपूर्णिमाको र गुरुतत्त्वको सहि उपयोग हुनेछ ।

“ॐ सह नाववतु, सह नौ भुनक्तु । सह वीर्यं करवावहै,

तेजस्वि नावधीतमस्तु मा विद्विषावहै । ॐ शान्तिः शान्तिः शान्तिः” ॥

अर्थात् हे ईश्वर ! तपाईले हामी दुई  गुरू र शिष्यको साथ- साथ रक्षा, पालन-पोषण,  शक्ति प्राप्तगर्न, प्राप्त भएको  विद्या तेजस्वीतामा परस्पर द्वेष नगरी, परस्पर स्नेह गरेर रहन सक्ने शक्ति प्रदान गर्नुहोस्  ।

“ॐ संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्

देवा भागं यथा पूर्वे सञ्जानाना उपासते” ।।

अर्थात् :— सँगै हिँडौँ, मिलेरै बोलचाल गरौँ, मनले आपसमा मिलौँ र जानौँ ।उहिलेका सबै जनहरूले आपसमा मिलेर देवत्व प्राप्त गर्न यज्ञ उपासना आदि गरेझैँ एकमत होऔँ ।

“ॐ असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय ।

मृत्योर्मा अमृतं गमय, ॐ शान्तिः शान्तिः शान्तिः” ॥

अर्थात् “हे भगवान्  ! हामीलाई सदैव सत्यतालाई आत्मसाथ गर्न सिकाउन, अज्ञानताको अँध्यारोबाट सदैव ज्ञान र चेतनाको उज्यालोतर्फको ज्ञानमार्ग  देखाउन  र हामीलाई   यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सिकाउन साथै यो संसारमा आदिदैविक, आदिभौतिक  र आध्यात्मिक शान्ति होस्” ।

उपनिषद्बाट साभार गरिएको उपरोक्त मन्त्रको अर्थले नै ज्ञानरुपी उज्यालो र त्यस्को महत्त्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसँग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सीप ग्रहण गर्नका लागि  गुरु र गुरुतत्त्वको ठूलो महत्व छ र संसारमा ज्ञान मात्र यस्तो विषय हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ । गुरु बिना हामीले सही ज्ञान र रहस्य जान्न सक्दैनौं | गुरुले हामीलाई हरेक प्रसङ्गलाई  अन्वयार्थ, भावार्थ, सामान्यार्थ अनेकौं रुपमा प्रष्ट पार्न सक्ने बनाउनुको साथै मूल तत्त्वसँग साक्षात्कार गराउन सक्हुनुन्छ | अषाढशुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा/व्यास पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकटगरी मनाउने गरिन्छ । यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ । गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ । सनातनीहरुले  आजको दिनलाई आफ्नो धर्म, परम्परा, संस्कार एवं संस्कृति अनुसार  ज्ञानको बाटो देखाउने गुरुप्रति आभार व्यक्त  गर्ने विशेष दिनका रुपमा लिनेगर्छन् । हामीलाई जन्मदिने मातापिता, परिवार, सानासाना हातमा कलम राखेर क, ख, रा पढाउने र सिकाउने शिक्षक, शिक्षिकाहरू किन नहुन, ऊनीहरुले सिकाएका र दिएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौँ  ।

असल गुरुको प्राप्ति या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ यद्यपि अहिलेको युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गर्न गाह्रो छ । विज्ञान, प्रविधिको अहिलेको युगमा पक्कैपनि हामीले ज्ञान प्राप्तिका लागि एकलव्यले  जस्तो द्रोणाचार्यको ज्ञान लुकेर सिक्नु पर्दैन |  शिक्षाका लागि संस्थागत रूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेशा अनि सञ्चारका माध्यमहरुले पनि हामीलाई गुरुरुपी शिक्षा दिइरहेका छन् यो शिक्षाले विषयगत ज्ञान त दियो तर जीवन जीउने ज्ञान दिएन त्यो केवल गुरुले मात्रै दिन सक्नुहुन्छ । औषधिको तथ्य र असर देखि चन्द्रमानका तालिकासम्म Google अनि Youtube  लगायत इन्टरनेटबाट सिक्ने, त्यही श्रोतबाट अध्ययन गर्ने अहिलेका पुस्ताहरुलाई गुरु पूर्णिमाले केहि फरक अनुभव दिन सक्दछ । तर संसार जहाँ नै पुगेपनि गुरुतत्त्वले स्वरुप परिवर्तन गरेका हो, शिक्षा आकाशबाट वर्षिदैन न त आकाशवाणी नै हुन्छ । शिक्षाका श्रोत र हस्तान्तरणकर्ताहरु सबैजना गुरु हुन, गुरुतत्त्व हुन ।

संसार जत्तिकै आधुनिक र ज्ञानहरु जत्तिकै सहज र व्यावसायिक रुपमा उपलब्ध भए पनि संसारमा गुरुतत्त्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरुतत्त्वको त्यही  महत्त्वलाई आत्मसाथ गरेर हुनसक्छ |  युग-युगदेखि वर्ष पछिको वर्षहरुमा पनि गुरुहरुलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरुलाई पनि गुरु, ज्ञान र गुरुतत्त्वको महत्त्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई आजको दिन कोटीकोटी नमन गरिने गरिन्छ । गुरु मार्फत प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार व्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो गुरु पूर्णिमा ।

हाम्रो संस्कार र संस्कृतीमा पनि गुरुको स्थान उच्च मानिन्छ । गुरुलाई हामी मातापिता भन्दा पनि पहिलो देवताको स्थानमा राखेर पुज्ने गर्छौं  । गुरुले आफ्ना शिष्यहरुसँग  आत्मा र परमात्माको बीचमा सेतु भएर काम गर्छन् । जसरी सूर्यको प्रकाश परावर्तन गरेर चन्द्रमाले कालो रातलाई उज्यालो बनाउँछ |  राम्रा गुरुको ज्ञान लिएका शिष्यहरुले संसारलाई नै उज्यालो पार्ने काम गर्दछन्  ।

हामी सबैको पहिलो गुरु को हो ?

‘त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव ।

त्वमेव विद्या च द्रविणम त्वमेव, त्वमेव सर्वमम देवदेव ।।’

अर्थात् हे ! माता  तिमी नै मेरो गुरु, पिता, दाजुभाई, मित्र, विद्या, धन आदि सबै तिमी नै हौँ | तिम्रो शरणमा बस्न पाउने हामी सबै माथि तिम्रो प्रेमको लीला  बनिरहोस् | आमा नै हामी सबैको पहिलो गुरु हो | आमा यस्तो अलौकिक शब्द हो | जसको स्मरणले मात्रै मानिसको हृदयमा प्रेम भावनाको लहर उत्पन्न हुन्छ | मन मस्तिष्क स्मृतिको गहिरो समुन्द्रमा डुब्छ | आमा यस्तो मन्त्र हो जसको उच्चारणले मात्रै अनेक पीडा नास हुन्छ | आमाको काखको महिमा वयान गरेर सकिंदैन केवल महसुस गर्न सकिन्छ | नौं (९) महिनासम्म गर्भमा राखेर, प्रसव पीडा झेलेर, स्तनपान गराएर, दिन-रात हरसमय बच्चाको लागि जागेर, स्वयं भिजेर पनि बच्चालाई सुरक्षित राख्नु, अनेक प्रकारका शिक्षाले भरिएका नैतिक कथा, गीत सुनाएर सुताउनु, तोते बोलीमा संवाद गर्नु, हातका औंला  समातेर चल्नु, प्रेम पुर्वक हप्काउनु, फकाउनु, विभिन्न पोषक परिकार प्रेम पुर्वक खुवाउनु, पियाउनु, बच्चाको लागि राम्रोराम्रो सपना बनाउनु, बच्चाको रक्षाको लागि अनेक समस्या को सहजै सामना गर्नु, बच्चा ठूलो हुँदा पनि उही प्रेम र कोमलता भरिएको व्यवहार ….यो नै आमाको मूल परिचय हो | यस सृष्टिको हरेक जीव र जन्तुको आमाको मूल परिचय यही हो | आजसम्म आमा शब्दको समग्र परिभाषा र अनन्त महिमा आजसम्म कसैले व्यक्त गर्न सकेनन् | उनै आमा हामी सबैको जीवनको पहिलो गुरु हुन | “मातृदेवो भव:”

 

गुरु पूर्णिमा के हो ? वेद व्यास को हुन ?

नेपाली पात्रो अनुसार अषाढ महिनाको पूर्णिमालाई गुरु पूर्णिमाको रुपमा मानिन्छ । गुरु वेद व्यासको सम्झनामा गुरु पूर्णिमा मनाइने परम्परा शुरु भएको मानिंदै आएको विश्वास गरिन्छ । गुरु व्यासले चार वेद, अठार पुराण र उपनिषद्,अन्य धेरै ग्रन्थ पनि रचना गर्नु भएको थियो । उनी गुरुहरुका गुरु  दत्तात्रेयका पनि गुरुका रुपमा पनि चिनिन्छन् । गुरु व्यास को हुन ? कसरी जन्मे र के-के कार्य गरेका थिए भन्ने कुराहरु त विभिन्न ग्रन्थमा यत्रतत्र छन् । हाम्रै देशको तनहुँ जिल्लास्थित दमौली (हालको व्यास नगरपालिका) नै कृष्णद्वैपायनको जन्मथलो हो । गुरु व्यासले भन्ने र गणेशजीले लेख्ने गरेर वेद एवं महाभारत जस्तो महान् ग्रन्थ यहीँ  सिर्जित भएको हो । सेती र मादीको संगमस्थल नै हो त्यो ठाउँ;  जहाँ गुरु व्यासले “परोपकारः पुण्याय पापाय परपीडनम् ||” को महान् मानवतावादी दर्शन मानव समुदायलाई प्रदान गरे । व्यासको जन्म-कर्म थलो नेपालमा हुनुमा सम्पूर्ण नेपालीले गौरव गर्न ढिलो गर्न हुन्न । नेपाल संसारको लागि ज्ञानको गुरुभूमि हो | वेद/उपनिषद्, पुराण, महाभारत, गीता/रामायणको गुरुभूमि हो | सृष्टिको मूल गुरुभूमि हो | सभ्यताको गुरुभूमि हो | कलाको गुरुभूमि हो | योगको गुरुभूमि नेपाल हो | गुरु गोरखनाथको गुरुभूमि हो | तसर्थ नेपाल नै संसारको गुरुदेश हो | वेद हाम्रो गौरव/निधि/सम्पत्ति हो भने संसारको गुरु हो | पुन: मूलमै फर्केर हामी सर्वश्रेष्ठ बनौं | नेपालको पुनर्जागरणको यात्रामा सबै मिलेर हातेमालो गरौँ |

गुरु पूर्णिमाको महत्त्व

गुरु पूर्णिमाको दिन समस्त सनातन भक्तजनहरुले गुरु व्यास प्रति आदर र सम्मन प्रकट गर्दै आराधना गर्दछन । सनातन संस्कृतिमा कुनै पनि तन्त्र, साधना तथा मन्त्र सिक्नका लागि गुरु पूर्णिमाको दिनलाई अति उत्तम  मानिन्छ । परापूर्व कालमा गुरु पूर्णिमा कै दिनलाई अति उतम मानेर ॠषि मुनीहरुले मन्त्र, तन्त्र साधना र व्यासको बम्हशास्त्रमा भएको ज्ञान प्राप्त गर्न कुनै एक ठाउँमा बसेर साधना शुरु गर्दथे । गुरु पूर्णिमाको समय रचनाकालको समय हुने हुँदा यसको विशेष महत्त्व छ | यो विशेष दिनमा सनातन धर्म हिन्दू, बौद्ध, जैन, किरात, बोन र अन्य हाम्रा गुरुहरुलाई नमन छ |

गुरु को हुन ?

“गु” को अर्थ अन्धकार हो र “रु” को अर्थ अन्धकारलाई चिर्ने उज्ज्यालो हो । त्यसैले जसले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नाश  गरेर ज्ञानको उज्यालो प्रकाश छर्दछन्, ती महान्  व्यक्ति नै गुरु हुन । ती मात्र गुरु हुन जसले हाम्रो मन भित्र भएको अन्धकाररुपी  माया मोहलाई नाश गरेर हामीलाई आत्मा र परमात्मासँग चिनाउन सक्छन्, उनै साक्षात् गुरु हुन । गुरु नै सर्वशक्तिमान  प्रभु हुन । स्वयं भगवान् श्रीकृष्ण नै ठूलो गुरु हुन  “कृष्णम वंदे जगत गुरु “ | गुरु नहुँदा कुनै पनि विषयको सही ज्ञान लिने सम्भावना छैन । परापूर्व कालमा गुरुकुलमा बसेर शिक्षा लिने चलन थियो | वर्षौंसम्म गुरुको साथमा रहेर गुरुको सेवा गर्ने चलन थियो । समयले अब कचुली फेर्यो तर गुरुको महत्त्व  कहिले कम भएन । गुरुकुल  होस्, विश्वविद्यालय, वा अरु कुनै कला मन्दिर जहाँ पनि गुरुले नै शिक्षा प्रदान गर्छन् । ती हाम्रा गुरु हुन जसले अज्ञानताको अँध्यारोलाई चिर्दै ज्ञानको ज्योतिले हाम्रो जीवनलाई सुन्दर बनाउने बाटो देखाउनु भएको छ | आजका सबै आविष्कारहरु  सबै हाम्रा महान्  गुरुको  शिक्षा र ज्ञानका उपक्रमहरु हुन । जसले गुरुको महत्त्व  बुझेको छ, उसले ज्ञानकोको महत्त्व  बुझेको छ । उसैले नै जीवनको पनि महत्त्व बुझेको हुन्छ | हाम्रो जीवनमा सत्य र ज्ञानको अमूल्य ज्ञान  दिन्छन् ती नै हाम्रा गुरु हुन । गुरु पूर्णिमाको दिनमा हामी पनि हाम्रा गुरुहरुलाई श्रद्धा र भक्ति सहित मिठाइ, प्रसाद, लुगा कपडा आदि अर्पण गरेर आफ्नो आदर अर्पण गर्ने गर्छौं  । यस्ता उपहारहरुलाई गुरु दक्षिणा पनि भनिन्छ । गुरुको सबै भन्दा ठूलो दक्षिणा भनेको उहाँले देखाएको बाटोको अबलम्बन र पढाएको पाठको सहि पालना नै हो । आफ्नो शिष्यको सफलतामा खुशी खोज्ने महानताले गुरुलाई अझै आदरणीय र उच्च बनाएको छ । भागवत्  गीतामा साँचो गुरुको चरित्र कस्तो हुनु पर्छ भन्ने कुरा लेखिएको छ । सच्चा गुरु उनै हुन जसमा  साँचो रूपमा ज्ञान प्रदन गर्न सक्ने क्षमता हुन्छ, ज्ञानी भएर पनि उनमा घमण्ड रत्ति भर हुँदैन । जसलाई भगवान् सबै कारक हुन र हामी सबै उनका कारण मात्रै हौँ  भन्ने ज्ञान हुन्छ । जसलाई सहि ज्ञानको अर्थ थाहा  छ । जो त्यसैमा जीवन बिताउँछ, जो रिस, राग, लोभ, मोह भन्दा धेरै पर हुन्छ; उही सच्चा गुरु हो । हामीलाई अक्षर चिनाउने देखि, बोल्न सिकाउने, हिंड्न सिकाउने, विद्यालय, विश्वविद्यालय वा कुनै पनि ठाउँमा सहि मार्ग देखाउने ती सबै गुरुहरुलाई आज यस महान्  गुरु पूर्णिमाको दिन सत् सत् नमन छ  । अन्तमा गुरु नै ब्रहम्मा, विष्णु, महेश्वर र साक्षात्  परमब्रहम्मा हुनुहुन्छ । गुरुको ज्ञान विना हामी केही गर्न सक्दैनौं, फरक यत्ति हो प्रत्यक्ष र अप्रत्यक्ष मात्रै हो । हृदयको स्पन्दनले  हामीले चालेका पाइला र तिनका सारतत्त्वको बयान दिन्छ । गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरुतत्त्वले आवाज निकाल्छ, नाँई ! त्यसो नगर, त्यो गलत हो भनेर तर त्यो आवाज हामी कतिले सुनेर पाइला रोक्छौं त कतिले सुनेर पनि नसुनेको जस्तै गर्छौं । यस अर्थमा हामी सबैको भित्रपनि एउटा गुरुतत्त्व  रहेको छ र सत्यलाई आत्मसाथ गर्नसके गुरुतत्त्व सदैव उपस्थित रहिरहन्छ । जिन्दगीले हरेक घुम्तीमा हामीलाई केहि न केहि सिकाएरै जान्छ तसर्थ हरेक पाठलाई आत्मसाथ गर्नसके गुरुपूर्णिमाको र गुरुतत्वको सहि उपयोग हुनेछ ।

अहिले घरघरमा वकिल, चिकित्सक, पण्डित, शिक्षक, कामदार राख्ने चलन छ तर खोइ तपाईको गुरु ? के गुरु गोरखनाथ नभएको भए, पृथ्वीनारायण जस्तो योग्य पात्रता भएको शासक नभएको भए हाम्रो के हुने थियो ? तसर्थ हामी सबैको जीवनमा गुरुको अत्यन्तै ठूलो स्थान छ | गुरु विना कसैले जीवन र संसार बुझ्न सक्दैनन् | हरेक महापुरुष गुरुको कृपाले नै सफल भएको इतिहास छ |

व्यास जयन्ती एवं गुरु पूर्णिमाको  पावन अवसरमा मलाई प्रतक्ष्य मागर्दर्शन गराउने गुरु (डा. निर्मलमणि अधिकारी, डा.चिन्तामणि योगी, गुरु चैतन्य कृष्ण, योगी राजन शर्मा आचार्य (भिमसेन सापकोटा) ) र अप्रत्यक्ष रुपमा मार्गदर्शन गर्ने गुरुहरुमा श्रद्धा र आभार व्यक्त गर्दछु र मित्रहरुलाई शुभकामना |

ॐ शान्तिः शान्तिः शान्तिः

थप जानाकारीको लागि पुज्य गुरुदेव चिन्तामणि योगीको दिव्यवाणी र ज्ञानबाट लाभ लिनुहोस् |

ॐ श्री गुरवे नमः

ॐ नम: शिवाय

 जय गुरु गोरखनाथ

 जय काली

(लेखक :- जरोकिलो अभियान्ता हुनुहुन्छ |)

सम्बन्धित शिर्षकहरु