नवनिर्मित नेपालको नक्सा प्रयोगमा ल्याइदै

काठमाण्डौ,सरकारले सातवटै प्रदेशका सबै निकाय र कार्यालयलाई नयाँ नक्सा कार्यन्वयन गराउनको लागि पत्राचार गरेको छ ।

भूमि व्यवस्था मन्त्रालयले कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको अद्यावधिक नयाँ नक्सा प्रयोगमा ल्याउन यसरी परिपत्र गरेको हो । सबै मन्त्रालय तथा कार्यालयलाई नयाँ नक्सा प्रयोग गर्न पत्राचार गरेको हो । सरकारले आईतबार मन्त्रिपरिषद् तथा प्रधान मन्त्री कार्यालयमार्फत सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत ७ सय ५३ वटै स्थानीय तहमा नयाँ नक्सा प्रयोग गर्न परिपत्र गरेको हो ।

प्रवक्ता जनक जोशीले भने,”मुख्यमन्त्री कार्यालयहरूमा प्रधानमन्त्री कार्यालयमार्फत र स्थानीय तहहरू संघीय मन्त्रालयमार्फत यस्तो परिपत्र गरेका हौं ।”

संघीय मन्त्रालयहरू तथा संघ मातहतमा रहेका कार्यालयमा भने भूमि व्यवस्था मन्त्रालयले आफैं पत्र पठाएको छ । मन्त्रालयले पठाएको पत्रमा पुरानो नक्सा हटाएर त्यसको ठाउँमा नयाँ नक्सा प्रयोग गर्न आग्रह गरिएको छ । मन्त्रालयका अनुसार पाठयक्रममा पनि अद्यावधिक गरिएको नयाँ नक्सा राखिने भएको छ ।

नापी विभागले पनि सरकारले पास गरेको नयाँ नक्सा उत्पादन तथा वितरण गर्न सुरु गरेको छ । हालसम्म करिब ४ हजार प्रति नयाँ नक्सा छापिएको विभागले जनाएको छ । तत्काल १० हजार नयाँ नक्सा छाप्ने तयारी विभागले गरेको छ । “सरकारले अद्यावधिक गरेको नक्साको उत्पादन तथा वितरण गर्न सुरु गरेका छौं,” नापी विभागका महानिर्देशक प्रकाश जोशीले बताए । विभागका अनुसार सर्वसाधारण जो कोहीले पनि नयाँ नक्सा विभागबाट लिन सक्नेछन् ।

विभागले आफ्नो वेबसाइटमा डाउन लोड गरेर नयाँ नक्सा प्रयोग गर्नसक्ने व्यवस्था पनि मिलाएको छ ।

मन्त्रिपरिषद्को बैठकको जेठ ५ गतेको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो ।

त्यसै गरी भूमि व्यवस्था मन्त्रालयले नयाँ नक्सा सार्वजनिक गरेलगत्तै भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले विभिन्न दलका नेताका घरघरमै गई नयाँ नक्सा हस्तारण गरेकी छन् । मन्त्रीले मन्त्रालय तथा नापी विभागका केही उच्च कर्मचारीलाई पनि सँगै लिएर नेताहरूलाई घरघरमा नयाँ नक्सा पुर्याएकी हुन् ।

सम्बन्धित शिर्षकहरु