सडकको खुसी :कवि गणेश चापागाईं

कविता :सडकको ख़ुसी

गणेश चापागाईं

 

यो सडक पचासों बर्ष भइसक्यो बनेको।
शुरुशुरूमा यो बन्दा मानिसहरू निकै खुसी थिए
यस माथि कुद्नकुदाउन पाइन्छ भनेर।
केटाकेटीहरू त औधि नै खुसी थिए।
यसलाई बनाउने कर्मीहरू र बुल्डोजर हेर्नेको भिड नै हुन्थ्यो।
चटकेको चटक जस्तो।
नहोस् पनि कसरी,
फुर्सद भएका मानिसहरू भए पछि रमिता नहेरेर के गर्नु ?

पचास बर्षदेखि यो सडक लमतन्न परेर सुतेको सुत्यै छ।
दैनिक सयौं अझ हजारौं सवारी जथ्थाहरूलाई
आफ्नु छातीमा कुल्चन दिएर।
हजारौं लाखौं पैतालाहरू ओडेर।
अनेकौं आँधीहुरी संग पौँठेजोरी खेलेको छ।
मौसमी जात्रा र उत्सवहरू
टन्टलापुर घाम वा कठ्याङ्ग्रिने ठिही उसका एक पछि अर्को आउने परिचित हुन्।
कहिलेकाहीँ ढुङ्गामुडा, टायर दहन, नाराजुलुस र बेसुरमा उठेका भिडहरूसंग पनि साक्षात्कार हुने गरेको छ।

कोहि उस्को स्थाई साथी छैन
सिवाय छेवैमा ठडिएको बुढो खरीको रूख।

ति सबैको उद्देश्य उसलाई कुल्चनु हो।
तर कहिलेकाहिँ मानिसहरू सडकलाई औधी माया गर्छन्।
खासगरी लस्कर लिएर साइरन बजाएर कसैको सवारी चल्ने भयो भने।
केहि छिन वा केहि दिनका लागि कृत्रिम रोगन थपिन्छ।
घाउलाई टाटा जस्तो बनाएर
दुखदाई पेनकिलर दिएर वा
दुखेको मनलाई हाँस्य रसको नर्तक जस्तो बनाएर।

तर किन हो कुन्नी हिजोआज पइतालाहरू ओड्नु परेको छैन।
रगडीरगडी थिल्थिलो बनाउने कुल्चाइ भोग्नु परेको छैन।
ढुङ्गामुडा, नाराजुलुस र सवारीका कहर सहनु परेको छैन।
त्यसैले होला केहि दिन देखि मेरो अलिअलि मुस्कान बडेको जस्तो आफैंलाइ लाग्न थालेको छ।
मेरो साथी त्यो बुढो खरी पनि पुरै पाउलिएको छ।
उसलाई देखेर म खुसी छु।
सायद मलाई देखेर उ पनि।

सम्बन्धित शिर्षकहरु