कोरोना भाइरसबाट जोगिन शरीरको प्रतिरक्षा प्रणाली कसरी बलियो बनाउने ?

काठमाडौं । सामान्य रुघाखोकी होस् वा कोेभिड–१९, हुने त भाइरसको आक्रमणबाट हो। र, आजसम्म पत्ता लागेको भाइरसको सबैभन्दा ठूलो निदान हो, बलियो प्रतिरक्षा प्रणाली। त्यसो भए कसरी बलियो बनाउन सकिन्छ प्रतिरक्षा प्रणाली ?

युनिभर्सिटी अफ् म्यानचेस्टरमा इम्युनोलोजीकी प्राध्यापक शिना क्रुइस्कशान्कका अनुसार हाम्रो प्रतिरक्षा प्रणाली कसरी जोगाउने भन्नेबारे जान्नलाई सबैभन्दा पहिला हाम्रो शस्त्रागारमा कस्ता हतियार छन् भन्ने जान्नुपर्छ।

“पहिले कहिल्यै सम्पर्कमा नआएका किटाणु नजिक पुग्दा तिनलाई रोक्न हाम्रो शरीरमा अनेकौं बार हुन्छन्”, उनी भन्छिन्।

छाला नै सबैभन्दा ठूलो बार हो। त्यसमुनि झोलिलो पदार्थ छ जसलाई म्युकस भनिन्छ। सिँगान यस्तै एउटा म्युकस हो। हाम्रो शरीरमा हुने माइक्रोबायोमले पनि हामीलाई जोगाउने काम गर्छ। माइक्रोबायोम सयौं माइक्रोब्सको नाम हो। माइक्रोब्स अर्थात् सुक्ष्म जीवहरू। छालामुनि दौडिने सयौं सुक्ष्म जीवहरूले खाना र स्थानका लागि हानिकारक जीवाणुसँग संघर्ष गर्दा तिनलाई नष्ट गर्ने रसायन बनाउँछन्।

म्युकस र माइक्रोब्सको तहमुनि इपिथेलियल कोषहरूको एउटा तह छ। “यसबाट छिर्न निकै नै गाह्रो हुन्छ। यी कोषहरूले कोरोना भाइरसजस्ता जीवाणुविरोधी पदार्थ बनाउँछन्”, शिना भन्छिन्।

रोगका किटाणुले यी बारहरू जितिहाले भने पनि उनीहरूले हाम्रो शरीरमा रहेका सेता रक्तकोषसँग जुध्नुपर्छ। यी सेता रक्तकोषलाई प्रतिरक्षा कोष (इम्युन सेल्स) पनि भनिन्छ। सेता रक्तकोषले बन्ने एक प्रकारको तन्तु हो म्याक्रोफेजेस। “यी कोषहरूसँग रोगका जीवाणुसँग जुध्ने सबै हतियार हुन्छ”, शिना भन्छिन्।

तर, यिनले रोगका जिवाणुलाई तुरुन्तै आक्रमण त गर्छन् नै, साथै आफूभन्दा चलाख सेता रक्तकोषहरूलाई खबर पुर्‍याउँछन्। ती सेता रक्तकोषको नाम हो, लिम्फोसाइट्स। लिम्फोसाइट्सले ती जीवाणुबारेका सूचनालाई आफ्नो स्मृतिमा राख्छ र फेरि कतै फेला परे तुरुन्तै मारिदिन्छ। यसरी प्रतिरक्षा प्रणालीले सूचनालाई स्मृतिमा राख्ने काम गर्छ जसले भ्याक्सिनले जस्तै काम गर्छ। अर्थात्, जिवाणु भेटिनासाथ मारिहाल्छ।

यति हुँदाहुँदै पनि हाम्रो प्रतिरक्षा प्रणालीमा कतैकतै रिक्त स्थान हुन्छन्। “यसको अर्थ हो, हाम्रो प्रतिरक्षा प्रणालीले किटाणुलाई परास्त गर्न वा चिन्न सकेन। अथवा ती किटाणु हाम्रो प्रतिरक्षा प्रणालीभन्दा बलिया भए”, शिना भन्छिन्।

यहाँसम्म पढ्दा तपाईंलाई लाग्यो होला, हाम्रो शरीरमा ब्याक्टेरियाजस्ता सुक्ष्म जीव पनि हुँदारैछन् है ?

हो त, हाम्रो शरीरमा ब्याक्टेरिया, यिस्टजस्ता सुक्ष्म जीव हुन्छन्। “आन्द्रामा हुने ब्याक्टेरियासँग मिलेर बस्छौं हामी”, ‘ब्रिटिस सोसाइटी फर इम्युनोलोजी’का अध्यक्ष एवं युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक अर्ने अकबर भन्छन्, “हाम्रो स्वास्थ्यलाई हित गर्ने ब्याक्टेरिया हुनु राम्रो हो। तिनलाई नोक्सान पार्ने काम गर्नु हाम्रा लागि हानिकारक छ।”

यी सुक्ष्म जीवले किटाणुलाई छेक्ने बारको काम मात्र गर्दैनन्। यिनीहरूले हाम्रो प्रतिरक्षा प्रणालीलाई सुचारू पनि राख्छन्। एलर्जी, दम, बाथ र मधुमेहजस्ता रोग हुनेहरूमा यस्ता हितकारी ब्याक्टेरिया कम हुन्छन्।

“यी हितकारी ब्याक्टेरिया जोगाउन हामीले उच्च–फाईबरयुक्त पोषिला खाना खानुपर्छ”, शिना भन्छिन्। यसको लागि शाकाहारी नै हुनुपर्छ भन्ने छैन तर, प्रशस्त हरियो सागसब्जी र फलफूल खान आवश्यक छ। “यी हितकारी ब्याक्टेरियाले फाइबरयुक्त खाना र गेडागुडी मन पराउँछन्”, शिना भन्छिन्, “दही, अचार, सलाद जस्ता खाना पनि आवश्यक छ।”

छालामा हुने सुक्ष्म जीव पनि महत्वपूर्ण छन्, तर यीबारे हामीलाई निकै कम थाहा छ। सूर्यको किरणमा हुने ठूलो मात्राको अल्ट्राभ्वाइलेट किरणले यिनलाई असर पुर्‍याउन सक्छन्। त्यस्तै कडा खालका साबुन धेरै प्रयोग गर्दा पनि छालामा हुने हितकारी जिवाणुलाई हानी पुर्‍याउँछ। “पर्फ्युम र मोइस्चराइजरहरूले पनि हानी पुर्‍याउन सक्छन्”, उनी भन्छिन्।

प्रतिरक्षा प्रणाली बलियो बनाउन शारीरिक रूपमा पनि स्वस्थ हुन आवश्यक छ। “सेता रक्तकोषहरू कमै मात्र चलायमान हुन्छन्। यिनीहरू एकै ठाउँमा थुप्रिरहन्छन्”, अकबर भन्छन्, “शारीरिक व्यायाम गर्दा रगत प्रसारण धेरै हुन्छ र यी सेता रक्तकोष पनि चलायमान हन्छन्। शरीरका धेरै ठाउँमा फैलिँदा यिनीहरूले निगरानी गर्ने र हानिकारक जिवाणु नष्ट गर्ने आफ्नो भूमिका पूरा गर्छन्।”

‘नेसनल हेल्थ सर्भिस’का अनुसार वयस्क व्यक्तिले हरेक दिन व्यायाम गर्नुपर्छ र हप्तामा कम्तिमा १५० मिनेट पसिना बहने गरी काम गर्नुपर्छ। संक्रमणको उच्च जोखिम भएका वृद्धावस्थाका व्यक्तिले पनि शरीरले थेग्ने कसरत गर्नुपर्छ। सन् २०१८ मा ‘युनिभर्सिटी अफ् बर्मिङघम’ र ‘किंग्स कलेज लण्डन’ले गरेको अध्ययनले ५५ देखि ७९ उमेरबीचका १२५ जना धुमपान नगर्ने साइकलयात्रीको प्रतिरक्षा प्रणाली जवान मानिसहरूको बराबरी भएको पाएको थियो।

कसरतको अर्को फाईदा पनि छ। यसले तनाव कम गर्छ। जति कम तनाव भयो प्रतिरक्षा प्र्रणाली पनि उत्तिकै बलियो हुन्छ। तनावका बेला उत्सर्जन हुने ‘कोर्टिसोल’ नामक हर्मोनले प्रतिरक्षा प्रणाली घटाइदिन्छ। “जसले दादुरा जस्ता रोग फर्काइदिन सक्छ”, अकबर भन्छन्, “यदि तपाईंलाई भाइरसले एकपटक आक्रमण गरेको छ भने कुनै पनि बेला त्यो संक्रमण फर्किनसक्छ। किनभने भाइरस कुनै न कुनै मात्रामा शरीरमा रहिरहेको हुन्छ। जब प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, ती सक्रिय हुन थालिहाल्छन्।”

कोरोना भाइरस संक्रमणको त्रासलाई एकैछिन बिर्सिदिनुस्। धेरै रक्सी पिउँदा पनि प्रतिरक्षा प्रणाली कमजोर हुन्छ। त्यसका लागि भाइरसको संक्रमण नै आवश्यक पर्दैन। “केही अध्ययनहरूले रक्सी पिउने मानिसहरूको सेता रक्तकोष बढी नष्ट भएको देखाएको छ”, शिना भन्छिन्।

प्रतिरक्षा प्रणालीमा सबैभन्दा महत्वपूर्ण भूमिका ‘भिटामिन डी’को छ। “हाम्रो म्याक्रोफेजेसले सबैभन्दा धेरे उपयोग गर्ने भिटामिन नै भिटामिन डी हो”, शिना भन्छिन्। धेरै मानिसहरूले भिटामिन सीले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ भन्ठान्छन्। तर, भिटामिन सीको खासै ठूलो भूमिका छैन। “त्यसो त सबै भिटामिन उत्तिकै महत्वपूर्ण छन्”, शिना व्याख्या गर्छिन्, “तर, भिटामिन सी घुलनशील हुन्छ। यो शरीरमा धेरै समयसम्म रहँदैन।” त्यसैले हप्तामा कम्तिमा पाँच दिन फलफूल र सागसब्जी खानु भिटामिन सन्तुलनमा राख्ने उत्तम विधि हो।

सही खाना र शारीरिक व्यायामले अर्को फाइदा गर्छ। यसले मिठो निद्रा दिन्छ। राम्रो निद्राले पनि प्रतिरक्षा प्रणाली बढाउँछ। पछिल्लो वर्ष भएको एक अध्ययन अनुसार कम सुत्ने मानिसहरूमा ‘टी सेल्स’ भनिने लिम्फोसाइट्स (सेता रक्तकोषको प्रकार) कम भएको पाइयो। रोगसँग लड्ने काम नै टी सेल्सले गर्छ।

तपाईं जवान र स्वस्थ हुनुहुन्छ भने प्राध्यापक अकबरका अनुसार कोरोना भाइरस वा अन्य फ्लुको संक्रमणबाट जोगिने सम्भावना बढी हुन्छ। “तपाईंलाई संक्रमण भइहाले पनि निको हुने सम्भावना बढी हुन्छ”, अकबर भन्छन्।

जनस्वास्थ्यको कोणबाट हेर्दा कोरोना भाइरसजस्ता संक्रमणसँग जुध्न यसको जोखिम बढी भएका उमेर समूहलाई ध्यान दिन जरुरी हुन्छ। “जवान र तन्दुरुस्त मानिसहरूको प्रतिरक्षा प्रणाली बलियो हुन्छ”, अकबर भन्छन्, “उमेर बढ्दै जाँदा शरीरका अंगहरूले काम गर्न छोड्छन् जसले प्रतिरक्षा प्रणाली पनि कमजोर बनाउँछ।”

शिना भन्छिन्, “कोरोना भाइरस संक्रमणको हकमा भने यो तरल थोपाहरूबाट धेरै फैलिने भएकाले सरसफाइमै ध्यान दिन आवश्यक छ।”

त्यसले नियमित रूपमा साबुनपानीले हात धुने गरौं। हाँच्छ्युँ गर्दा वा खोक्दा टिस्यु पेपरले मुख छोप्ने गरौं। र, तुरुन्तै टिस्यु पेपरलाई सही ठाउँमा नस्ट गरौं। -द गार्जियनबाट अनुवाद

सम्बन्धित शिर्षकहरु