अभिभावकहरुको अष्ट्रेलियामा बनभोज ,तिर्थयात्रा र योगयात्रा (फोटो फिचर)

सिड्नी । २९ फेब्रअरी २०२० तारिख शनिबार, एक त छुट्टीको दिन त्यसमाथि बिहानीपख नेपालबाट कंगारूको देशमा आएका बाआमाहरू उत्साहित थिए । वनभोज गर्न, भलाकुसारी गर्न र रमाइलो गर्न।

सिड्नीको सडकमा शनिबार र आइतबार प्रायः गाडीहरू पातला देखिन्छन्, त्यसैले ट्राफिकको समस्या खासै झेल्नु पर्दैन। त्यस माहोलमा गैरआवासीय नेपाली संघ अस्ट्रेलिया एनएसडब्लु राज्य परिषद्को आयोजनामा गरेको अभिभावक पिकनिकको छुट्टै रौनक देखियो ।

पिकनिकमा ८ सय ५० भन्दा बढी अभिभावकको सहभागिता रहेको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु राज्य संयोजक देव गुरुङले वताए ।

पिकनिकमा जानका लागि विहानैदेखि सिड्नीका विभिन्न स्थानहरु औवर्न, रकडेल, ग्रानभील, क्याम्पसी, वेस्टमेड, कोगराह, क्यामेलटाउन, मिन्टो, ब्लाकटाउन, साउथवेस्ट, ओरान पार्क, हस्नबी, आटामन, हर्सभिल र पेनचस्टबाट अभिभावकहरु जम्मा भएका थिए ।

अभिभावक जाने बाटोमा रहेको नानटेन मन्दिरको दर्शनपछि न्यू साउथ वेल्सको नर्थ उलंघनको स्टुअर्ट पार्कमा गएर अभिभावक वृहद् वनभोज भएको छ ।

आयोजकले अभिभावकहरुका लागि योगा कक्षा सञ्चालन गरेका थिए ।अभिभावकहरुलाई योग गुरु आचार्य राजन शर्माले योग शिविर सञ्चालन गर्नुभएको थियो । ।

योगका साथै आध्यात्मिक ज्ञानका बारेमा पनि योग गुरु शर्माले अभिभावकहरुलाई सुखपूर्वक जीवन बांच्ने उत्प्रेरणा दिनु भयो । कसरी हास्न सकिन्छ, खुशीमा के रमाइलो छ भन्ने बारे योग गुरुको प्रवचन धेरैले रुचाएका थिए ।

योग कक्षा सकिएपछि भएको दोहोरि गीत कार्यक्रममा अभिभावकहरुले धेरै मनोरञ्जन लिएका थिए । अभिभावकहरुको स्वास्थ्य जाँचको व्यवस्था पनि गरिएको थियो ।

धेरै अभिभावकमा उच्च रक्तचाप, सुगर र बुढ्यौलीमा लाग्ने सामान्य रोगको जाँच गरिएको थियो । कार्यक्रम एनआरएनए अस्ट्रेलियाका सचिव दीपक पहारीले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए एसीसी डिपुटी कोअर्डिनेटर चुन्ना क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए ।

विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिलगायत लब्धप्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहेको कार्यक्रममा प्रायोजकमध्ये मल्टी डाइनामिक रियलस्टेटका प्रिन्सिपल मेघराज पौडेल ,ओली एसोसिएटकानिर्देशक भवानी ओली , एनआरएनए ओसियन संयोजक होम पाण्डे र कार्यक्रम अध्यक्ष देव गुरुङले मन्तव्य राखेका थिए ।

बिहान ७ बजे सिड्नी र क्यानबेराका विभिन्न सबर्बहरूबाट पिकनिकमा पुगेका अभिभावकहरू साँझको घरतिर प्रस्थान गर्नका लागि निस्किँदा सम्म निकै हर्षित र प्रफुल्लित मुद्रामा देखिन्थे।

हर्षित मुद्रामा दिन बिताएका अभिभावकहरूले प्रवासी नेपालीलाई एउटा गतिलो सन्देश दिने प्रयत्न भने गरिरहेका थिए– ‘आफ्नो मूल कहिल्यै नबिर्सनू।

आखिर संसारको जुनसुकै कुनाकाप्चामा पुगे पनि जन्म दिने बाबुआमा र मातृभूमिलाई कसैले बिर्सनु हुन्न।’यही सन्देशको गहनताभित्र डुब्दै हामी पनि त्यस ठाउँबाट घरतर्फको यात्रामा निस्किएका थियौँ।

फर्किंदा भने यात्रामा देखिएका दृश्यहरूलाई मैले धेरै बेरसम्म नेपालका तस्वीरहरूसँग मनमनै तुलना गरिरहेँ र धेरैबेर मातृभूमिको सम्झनामा अल्झिरहेँ सहभागिको भनाई थियो ।

 

सम्बन्धित शिर्षकहरु