सिड्नीमा गुन्जिए कवि उदय निरौला।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा गत आईतबार सिड्नीमा कवि उदय निरौला संगको साहित्यिक साक्षात्कार कार्यक्रम सम्पन्न भयो।

अलि ! अघि एउटा
मीठो सपना उठेको थियो
सपना थियो आखिर
बाटो नभेटेरै थान्को लागेछ ।
कल्पनाको लहरो चढ्दै थियो उकालो
कल्पना थियो आखिर
थाँक्रो नपाएरै
तलतिरै झरेछ ।

यी कविताका पङ्क्ति कवि उदय निरौलाका हुन। उहाँका कविता जीवन्त हुन्छन र हृदयमै स्पर्श हुन्छन। सिड्नीका साहित्य अनुरागीहरुले उहाँका कविता औधी मन पराए। म र बकाइनीको रूख, शीर्षकको कविता बाट आफ्नो वाचन शुरु गर्नुभएका कवि निरौलाले आधा दर्जन कविता सुनाउनुभयो। अष्ट्रेलिया भ्रमणमा रहंदा लेखिएका कविताहरु अष्ट्रेलियाको बसाईँ,भूगोल,साथै अनुभूति समेटिएका कविताहरु सुनाउंदा श्रोताहरु मन्त्रमुग्धभए। प्रवासमा रहने नेपालीको सु:ख,दु:ख सम्पूर्ण भोगाईहरु कविता मार्फत प्रस्तुत गर्दा हाम्रै यथार्थ अनुभुती समेटीएको कविता सुन्न पाएकोमा नेपाली भाषा पाठशाला बाट आउनुभएका श्याम सैंजुले मुक्तकण्ठले कवि निरौलाको प्रशंसा गर्नुभएयो भने यस्तो कार्यक्रम आयोजना गरेकोमा अनेसास न्यू साउथ वेल्सलाई धन्यबाद दिनुभयो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष महेश्वर शर्माले अध्यक्षता निर्वाह गर्नुभएको सो कार्यक्रममा डा. प्रकाश पौडेल,विदुर सापकोटा ममता तिवारी,सिता रसाईली,प्रविन टन्डन तथा महेश्वर शर्माले पनि आ-आफ्नो रचना वाचन गरेका थिए।
अडरअफ अष्ट्रेलियाबाट विभूषित ईन्द्रा वनले सो कार्यक्रममा आई यसरि रचना वाचन गरेको सुन्न पाउंदा मुक्तकण्ठले प्रशंसा गर्नुभयो भने नेपाली भाषा पाठशालाकी अध्यक्ष अचला तिमिल्सिनाले अनेसास न्यू साउथ वेल्सले आयोजना गरेको रचना वाचन कार्यक्रममा सहभागि हुनपाउंदा आंफु हर्षित रहेको बताउनुभयो।

कवि निरौलाका प्रकाशित कृतिहरु कोलाहल पिएर कविता सङ्ग्रह,जराहरु किमार्थ कविता सङ्ग्रह,कोर्दै मेट्दै निबन्धसङ्ग्रह,शीतको मफलर कविता सङ्ग्रह,उदय निरौलाका प्रतिनिधि कविताहरु छन भने उहाँले अनुराग साहित्यिक पत्रिका,मधुपर्क साहित्यिक मासिक,तथा सरकारी सेवाभित्रका साहित्यिक स्रष्टा र सिर्जना मा सम्पादकको रुपमा कार्य गर्नुभएको थियो।

साथै उहाँ नेपाली राजकीय प्रज्ञा प्रतिष्ठानको कविता प्रतियोगिता (२०४८) मा प्रथम; ललिता काव्य पुरस्कार, प्रतिभा पुरस्कार लगायत थुप्रै सम्मानबाट विभूषित, हुनुभएको छ। सो कार्यक्रमको संचालन सो संस्थाका सचिव प्रविन टन्डनले गर्नभएको थियो। भने सो कार्यक्रम २३ फेब्रुअरी २०२० आईतबार सिड्नी स्थित क्याम्सिमा सम्पन्न भएको थियो।

सम्बन्धित शिर्षकहरु