अनियमितता आरोप लागेका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सफाइ

काठमाडौं । अनियमितता आरोपमा छानविनमा परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सफाइ पाएका छन् । श्रेष्ठलाई बर्खास्त गर्नुपर्ने यथेष्ठ कारण नभएको भन्दै मन्त्रिपरिषद् बैठकले सफाइ दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले छानविन समितिको सिफारिसअनुसार सरकारले श्रेष्ठलाई सफाइ दिएको जानकारी दिए ।

श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, पदको दुरुपयोग गरी आर्थिक लाभ लिएकोलगायतका आरोप लगाइएको थियो । यिनै आरोपमा छानविन गर्न अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गरेपछि राष्ट्र बैंकले सञ्चालक समिति सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो, जसमा राष्ट्र बैंककै सञ्चालकहरु सुवोधकुमार कर्ण र रामजी रेग्मी सदस्य थिए ।

उक्त समितिले श्रेष्ठमाथि अनुसन्धान गरी अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा श्रेष्ठलाई पदबाट बर्खास्त गर्नुपर्ने खालका पर्याप्त कारण नदेखिएको उल्लेख थियो । सोहीअनुसार मन्त्रिपरिषदले उनलाई सफाइ दिएको सरकारका प्रवक्ता बाँस्कोटाले बताए ।

सरकारको निर्णयसँगै निलम्बनमा रहेका डेपुटी गभर्नर श्रेष्ठको पुनर्बहाली हुने भएको छ ।

सम्बन्धित शिर्षकहरु