‘माघे संक्रान्ति’ एउटै पर्व फरक नाम: थारु समुदायमा माघी र नेवारमा ‘घ्यःचाकु सन्हुुको रौनक

काठमाडौं । आज परम्परागत माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सुर्य धनु राषीबाट मकर राषीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ ।

ती स्थानमा हिजो राति नै जाग्राम बसेर दर्शनार्थीले पाठपूजा गरेका थिए । आजको दिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ । थारु, मगर र छन्त्याल समुदायल भने नयाँ वर्षको रुपमा माघी पर्व धुमधामसँग मनाउँदैछन् ।

पश्चिम तराइका दाङ, बाँके, बर्दिया र कैलालीलगायत जिल्लामा माघीको विशेष रौनक छाएको छ । माघी पर्वकै अवसर पारेर राजधानीको टुँडिखेलमा थारु महोत्सवको आयोजना गरिएको छ । यस्तै बर्दियाको ठाकुरद्वारामा पश्चिम तराइका विभिन्न जिल्लाबाट आएका थारु समुदायको घुइँचो लागेको छ । माघी पूजा तथा स्नानका लागि बर्दियाका साथै दाङ, बाँके तथा कैलाली जिल्लाबाट थारु समुदाय ओइरिएको छ । ठाकुरद्वारामा आजदेखि तीन दिनसम्म लगातार माघी मेला लाग्ने गर्दछ ।

नेवार समुदाय ‘घ्यःचाकु सन्हु’ मनाउँदै

नेवार समुदायले ‘घ्यः चाकु सन्हु’ आज मनाउँदैछन्। माघे सङ्क्रान्तिका दिन नेवार समुदायले बिहान सबेरै नित्य पूजापछि विभिन्न देवदेवीलाई घिउ, चाकु, साकसला र काँचो तरुल राखेर चढाउने चलन छ।

त्यस्तै पितृलाई पनि घिउ र चाकु दिने गरिन्छ। देवदेवीको पूजापछि आफूभन्दा ठूला मान्यजनबाट ज्वानो राखेर तताइएको तोरीको तेल टाउकामा लगाइदिने गरिन्छ।

जाडो समयमा खाने तेल टाउकामा राखेर घिउ, चाकु, चिउरा, तरुल जस्ता पोसिलो वस्तु खाँदा शरीर तातो भई ऊर्जा पैदा हुने जनविश्वास छ। राजधानीका मुख्य बजार असन र काष्ठमण्डपसहित अन्य ठाउँमा आज घिउ, चाकु र तरुल किन्नेको घुइँचो लागेको छ।

सम्बन्धित शिर्षकहरु