पश्चिम सिड्नी पृथ्वीकै सबैभन्दा तातो ठाउँ,आगो निभाउन तीन हजार सेना थपियो

अस्ट्रेलिया ।  दक्षिण-पूर्वी अस्ट्रेलियाको जंगलमा भीषण डढेलो लागेको छ। यहाँको सरकारले यो मौसममा मात्रै तेस्रोपटक आपत्काल घोषणा गरेको छ।

भीषण डढेलोका कारण यहाँको तापक्रम अहिलेसम्मकै उच्च भएको छ। झाडीमा फैलिएको डढेलोका कारण औसत उच्चतम तापक्रम ५० डिग्री सेल्सिएसनजिक पुगेपछि शनिबार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरूले बताएका छन्। पश्चिम सिड्नी क्षेत्र पृथ्वीकै सबैभन्दा तातो ठाउँ बनेको हो।

सिड्नीको पश्चिम पेनरिथको तापक्रम ४८.९ डिग्री मापन गरिएको मौसम विभागले जनाएको छ। यहाँ २०१८ को जनावरीमा ४७.३ डिग्री मापन गरिएको थियो। यो रेकर्ड सन् १९३९ यताकै सबैभन्दा उच्च हो। यो साता पूर्वतिर बहेको तातो हावाका कारण अस्ट्रेलिया तातेको हो।

मौसम विभागले आउँदा दिनहरूमा उष्णलहर अझ खराव हुनसक्ने पूर्वानुमान गरेको छ। थुप्रै शहरहरूमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ। आगलागीका कारण हजारौँ मानिस घर छोडेर हिँडेका छन्। यहाँ अहिलेसम्म १८ जनाको मृत्यु भएको संचार माध्यमहरूले जनाएका छन्। न्यु साउथ वेल्स र छिमिकी राज्य भिक्टोरियामा आठजनाको मृत्यु भएको छ।

अष्ट्रेलियामा भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको बताएका हुन्।

उनका अनुसार यसरी यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको उनले थाहा पाएसम्मकै यो सबैभन्दा धेरै हो। ‘धेरै सुरक्षाकर्मीलाई घटनास्थलमा परिचालन गर्ने निर्णय आज गरिएको छ, धेरै हवाई जहाज र पानी जहाजमा पनि सुरक्षाकर्मी राखेर खटाउछौँ,” उनले भने। उनले तयारी अवस्थामा रहेको तीन हजार सैनिकलाई आगलागी नियन्त्रणका लागि बोलाई सकिएको पनि जानकारी दिए।

झण्डै एक महिना अघिदेखि भइरहेको विनाशकारी आगलागी नियन्त्रण हुन नसकिरहेकाले उनीहरूलाई परिचालन गर्नु परेको प्रधानमन्त्री मोरिसनको भनाइ छ। यसअघि पनि घटनास्थलमा आगलागी नियन्त्रण, खोजी तथा उद्धारलगायतका कामका लागि सैनिकहरूले सघाइरहेका थिए।

अधिकारीहरूका अनुसार झण्डै दुई हजार सुरक्षाकर्मी यसअघि पनि परिचालन गरिएको थियो। आगलागीका कारण अहिलेसम्म कम्तीमा १८ जनाको मृत्यु भएको र अरु २८ जना बेपत्ता भएको जनाइएको छ। देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ।

अष्ट्रेलियाको तटीय क्षेत्रमा भएको आगलागीका कारण हजारौँ मानिसहरू भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन्। डढेलो ’नियन्त्रण बाहिर’ छ भने त्यस क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सियस रहेको अधिकारीहरूले जनाएका छन्।

सम्बन्धित शिर्षकहरु