भारतमा भयावह भोकमरी, चीनमा न्यून,नेपालको सुधार,कसरी गरिन्छ मापन ?

काठमाडौं । वेल्टहङ्गरडिल्फे र कन्सर्न वल्डवाइड संस्थाले गरेको अध्ययनको आधारमा भोकमरी सम्बन्धी विश्वव्यापी सूचकाङ्ग २०१९ सार्वजनिक भएको छ । प्रतिवेदनका अनुसार विश्वमा विभिन्न ११७ मुलुकहरुमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ ।

वेल्टहङ्गरहिल्फे नेपालको साझेदारीमा ‘जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड)’द्वारा विहिवार नेपालमा यो प्रतिवेदन सार्वजनिक गरिएको हो ।

प्रतिवेदनले विश्वका मुलुकहरुको भोकमरीको अवस्थालाई न्यून भोक, मध्यम भोक, गम्भीर प्रकृतिको भोक, भयावह भोक र अति भयावह भोक गरी पाँच तहमा राखेको थियो । प्रतिवेदनअनुसार नेपालको स्थिति ‘गम्भीर प्रकृतिको भोक’ अन्तर्गत पर्दछ ।

अध्ययनमा समेटिएका दक्षिण एसियाली मुलुकहरुको तुलना गर्दा नेपालको अवस्था श्रीलंकाको भन्दा कमजोर तर बङ्गलादेश, पाकिस्तान, भारत र अफगानिस्तानको भन्दा राम्रो छ । भुटान र माल्दिभ्स यस अध्ययनमा समेटिएका छैनन् ।

छिमेकी मुलुक चीन २५ औँ र भारत १०२ औँ स्थानमा छन् । जिएचआई सूचकाड्ढका लागि मुलुकहरुको स्थिति अध्ययन गर्दा त्यहाँ रहेको अल्पपोषित जनसङ्ख्या, बाल ख्याउटेपन, बाल पुड्कोपन र बालमृत्युलाई प्रमुख आधारको रुपमा लिइएको छ ।

यी चारै प्रकारका तथ्याड्ढीय विवरण उपलब्ध हुन सकेका ११७ वटा मुलुक मात्र यस अध्ययनमा समेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनमा समेटिएका मुलुकहरुमध्ये ‘मध्य अफ्रिकी गणतन्त्र’ सबैभन्दा पछाडि अर्थात् ११७ औँ स्थानमा रहेको र ‘अति भयावह’ अवस्थाबाट गुज्रिरहेको छ ।

चाड, माडागास्कर, यमन र जाम्बियाको अवस्था ‘भयावह’ वर्गमा परेको छ । प्रतिवेदनमा वर्गीकरण गरिएका विश्वका ११७ मुलुकहरुमध्ये ४३ वटा मुलुकको भोकमरीको अवस्था ‘गम्भीर’ छ भने ४६ मुलुकहरुमा भोकमरी ‘न्यून’ रहेको छ ।

कसरी गरिन्छ मापन ?

कूल जनसंख्याले पाइरहेको पोषण मात्राका आधारमा अल्पपोशित जनसंख्याको अनुपातलाई मापनको एक आधार मान्ने गरिएको छ । कुपोषणका कारण हुने पाँच वर्षमुनीका बालबालिकाको मृत्युदरलाई समेत मापनको आधारका रुपमा समेटिएको छ ।

पाँच वर्षमुनीका बच्चामा देखिने कम तौल, रोगव्याधीको संक्रमण तथा त्यसबाट उत्पन्न हुने समस्यालाई समेत एक आधारमा रुपमा लिने गरिन्छ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रमले तोकेका मापदण्ड पुरा भए–नभएको हेरी सूचकांकको गणना हुने गरेको छ । यसभित्र शरीरका लागि आवश्यक तत्व (भिटामिन, खनिजलगायत) को उपलब्धता, अपर्याप्त भोजन, संक्रमण तथा बिरामी अवस्थामा पर्याप्त पोषक खाद्यान्नको कमी, अपर्याप्त मातृ तथा शिशु स्वास्थ, स्वच्छ खानेपानीको उपलब्धताले समेत यसमा प्रभाव पार्ने गरेको छ ।

सम्बन्धित शिर्षकहरु