जिउँदै इटाभट्टामा जलाएर हत्या गरेको अभियोग लागेका आलम जेल चलान

काठमाडौं । बम विस्फोटका घाइतेलाई जिउँदै इटाभट्टामा जलाएर हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका निलम्बित सांसद अफताब आलम जेल चलान भएका छन् । रौतहट जिल्ला अदालतले आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामै राखि मुद्दाको कारवाही अगाडी बढाउन आदेश दिएको छ । नेपालका चर्चित कानुन ब्यवसायीहरुले प्रतिरक्षा गरेपनि आलम जेल जानबाट रोकिएनन् । चार दिनलामो थुनेछेक बहसपछि आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने अदालतले आदेश दिएको हो ।

आलम पक्राउ परेपछि पीडितहरुलाई धम्क्याउनेदेखि लोभ लालचमा फसाएर बयान फेर्न समेत लगाएका थिए । तर अदालतले त्यो कार्यमा पनि आलमलाई दोषी ठानेको छ । प्रहरीले आमलसहित ११ जनाबिरुद्ध मुद्दा दर्ता गरेको थियो । अदालतले इटाभट्टाका मालिकलाई पनि पूर्पक्षका लागि थुनामा पठाएको छ ।

घटनामा मोहम्मद अफताव आलम सहित मोहम्मद महताब आलम, मोहम्मद मोविन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सर, शेख फजलेह र सगिर आलमलाई प्रतिबादी बनाइएको थियो ।

सम्बन्धित शिर्षकहरु