प्रमाण मेट्ने प्रहरी अनुसन्धानबाहिर, अहिले के हुँदै छ अनुसन्धान ?

काठमाडौं । यस घटनामा तत्कालीन एसपी डिल्लीराज विष्टको भूमिकालाई लिएर पीडित परिवार र स्थानीयले सुरुदेखि नै शंका गर्दै आएका छन् । तर, नयाँ छानबिन टोलीले पनि विष्ट, घटनास्थल पुग्ने र अनुसन्धानमा संलग्न प्रहरी अधिकृत तथा कर्मचारीमाथि उचित छानबिन गरेको देखिँदैन । निर्मलाको सुरुवाल पखालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि पीडित परिवार र स्थानीयको आक्रोश चुलिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, सुरुवाल पखाल्ने प्रहरी जवान चाँदनी सावदले मानिसको भिड बढ्दै गएपछि आफूले सुरुवालले निर्मलाको यौनांग छोपिदिएको बताइन् । ‘कसैले अह्राएको होइन । तर, मानिसहरूको भिड बढ्दै गएपछि मैले सुरुवालले निर्मलाको गुतांग छोपिदिएकी हुँ । मलाई त्यसवेला केही हेक्कै भएन, सुरुवाल पखालेको पनि पछि भिडियो हेरेर थाहा पाएँ । मलाई कसैले त्यसो नगर भनेर पनि रोकेन ।’

राष्ट्रिय मानवअधिकार आयोगले पनि प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्नेदेखि प्रभावकारी अनुसन्धान गर्नेलगायत कार्यमा सुरुदेखि नै गम्भीर त्रुटि गरेको औँल्याएको छ ।
‘घटनास्थलको संरक्षण, त्यहाँबाट प्रमाण संकलन गर्नेदेखि जघन्य प्रकृतिको यो अपराधको प्रारम्भिक अनुसन्धानमै प्रहरीले लापरबाही गरेको देखिन्छ । त्यो पछिसम्मै निरन्तर रहेको पाइन्छ । बरु उल्टै निर्दोष व्यक्तिहरूलाई यातना दिँदै जबर्जस्ती अपराध सकार्न लगाएर मानवअधिकारको उल्लंघन गरेको देखिन्छ,’ घटनाको स्थलगत अनुगमन गरी महेन्द्रनगरबाट फर्केकी आयुक्त तथा आयोग प्रवक्ता मोहना अन्सारीले भनिन् ।

प्रमाण संकलनको साटो मेटाउनु, अनुसन्धानमा गम्भीर लापरबाही गरिनुजस्ता कारणले तत्कालीन प्रहरी नेतृत्व तथा कर्मचारीमाथि पनि छानबिन आवश्यक थियो । गृह मन्त्रालयले सहसचिव हरि मैनालीको नेतृत्वमा गठन गरेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डिआइजी सम्मिलित छानबिन समितिले पनि यसतर्फ उचित ध्यान दिएको पाइँदैन । समितिले काठमाडौं झिकाइएका निलम्बित एसपी विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर जगदीशप्रसाद भट्टलगायतको बयान लिने चर्चा चलेको छ ।

तर, समितिका सदस्य प्रहरी नायब महानिरीक्षक रामप्रसाद श्रेष्ठ भन्छन्, ‘बयान लिने कुराबारे मलाई थाहा छैन । हामी प्रतिवेदनलाई अन्तिम रूप दिन लागिपरेका छौँ । अबको दुई–तीन दिनमै प्रतिवेदन बुझाउँछौँ ।

प्रहरीले दिलीपका साथै निर्मला हराएको घरका दिदीबहिनी बबिता र रोशनी बमलाई पनि पक्राउ गरेको छ । जिल्ला न्यायाधिवक्ता खेमराज भट्टका अनुसार प्रहरीले दिलीपलाई बढीमा २८ भदौसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । उनका अनुसार त्यसपछि प्रहरीसँग तीन विकल्प मात्र बाँकी रहन्छन् । पहिलो, प्रमाण पु-याएर मुद्दा अभियोजन गर्ने । दोस्रो, सरकारी वकिलको कार्यालयको सम्मतिमा पछि फेरि अनुसन्धानका लागि झिकाउन सक्ने गरी धरौटी लिएर तारेखमा छाड्ने । र, तेस्रो प्रमाण जुटाउन नसके रिहा गर्ने ।

दिलीपको हकमा प्रहरीको आशा डिएनए परीक्षण प्रतिवेदनमै टिकेको छ । किनकि, उनलाई दोषी ठहर गर्न सक्ने अन्य ठोस प्रमाण प्रहरीसँग छैन । प्रहरीले निर्मलाको शव परीक्षणका लागि १३ साउनमा नै प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइसकेको छ भने ५ भदौमा दिलीपको रगत पनि डिएनए परीक्षणका लागि पठाएको छ । काठमाडौंमा उपचारकै क्रममा रहेका वेला १३ भदौमा राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले पनि दिलीपको डिएनए परीक्षणका लागि रगत लिएको छ । ती सबै रिपोर्ट दुई–तीन दिनभित्र आइपुग्ने एसपी कडायतले बताए । ‘विष्टबारे त्यसपछि मात्रै केही भन्न सकिन्छ,’ उनले भने ।

यता सिआइबीको नयाँ टोलीले फरक ढंगले अनुसन्धान अघि बढाएको छ । घटनास्थलनजिकै एक ठेकेदारको घर छ । जहाँ दिनहुँ ६–७ वटा टिपर, त्यसका चालक, सहचालक र मजदुर रहन्छन् । सिआइबीले उनीहरूसँग पनि सोधपुछ गर्ने र विभिन्न कोणबाट अनुसन्धान गर्ने काम गरिरहेको छ । त्यसबाहेक घटनास्थलनजिकै सेनाको श्री २५ नम्बर बाहिनी गण छ । सिआइबीले यस्ता विभिन्न कोणबाट अनुसन्धान थाले पनि हालसम्म ठोस उपलब्धि हासिल गरेको छैन ।

सम्बन्धित शिर्षकहरु