बिम्स्टेकमा यस्ता छन् नेपालका प्राथमिकता

काठमाडौं । काठमाडौमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा नेपालले विभिन्न पाँच क्षेत्रलाई प्राथमिकतामा राख्ने जनाएको छ । आयोजक तथा अध्यक्ष मुलुक समेत रहेको नेपालले यही भदौ १४ र १५ गते हुने सम्मेलनमा केही प्राथमिकताका विषय निश्चित गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

बुधबार परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको विज्ञहरुसँगको छलफल तथा सुझाव आदानप्रदान कार्यक्रममा मन्त्री प्रदीप ज्ञवालीले बिम्स्टेकका कामका क्षेत्रहरु धेरै रहेको र कुन क्षेत्रलाई बढी प्राथमिकता दिने भन्ने निश्चित नभएकाले प्राथमिकताका क्षेत्र तोक्नुपर्ने बताए । ‘कामका क्षेत्रहरु धेरै छन्, कुनलाई प्राथमिकतामा राखेर काम गर्ने भन्ने छैन, तोकिएका क्षेत्रमा प्रभावकारी काम गर्न प्राथमिकता तोकिनुपर्छ,’ मन्त्री ज्ञवालीले भने ।
सम्मेलनमार्फत शान्ति, समृद्धि, दिगोपन, जलवायु परिवर्तन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिने ज्ञवालीले जानकारी दिए । ज्ञवालीले नेपालका तर्फबाट विशेष गरी पाँच क्षेत्रलाई प्राथमिकतामा राखिने जानकारी दिए । उनले नेपालका तर्फबाट कनेक्टिभिटी, गरिबी निवारण, ट्रेड एण्ड इन्भेष्टमेन्ट, जलवायु परिवर्तन र दीगोपन तथा मानव बेचबिखनका विषयलाई प्राथमिकतामा राखिने जानकारी दिए ।
सम्मेलनमा उर्जा सम्झौता, अपराधसँग सम्बन्धीत विषय, प्रविधि हस्तान्तरण, स्वतत्र व्यापार सम्झौता लगायतका महत्वपूर्ण विषयमा सम्झौताको सम्भावना रहेको मन्त्री ज्ञवालीले जानकारी दिए । ज्ञवालीले सम्मेलनमार्फत बिम्स्टेकको घोषणापत्र, बिम्स्टेकको सचिवालय प्रभावकारी बनाउने विषय, बिम्स्टेक मार्फत विभिन्न अनुसन्धानका लागि कोषको स्थापना लगायतका विषयमा महत्वपूर्ण छलफल हुने जानकारी दिए ।
सम्मेलनमा सहभागी हुन सदस्य मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा विदेश मन्त्रीहरुको उपस्थित हुने र सम्मेलनका अधिकांश कार्यक्रम सोल्टी होटल परिसरमै हुने ज्ञवालीले जानकारी दिए ।
मन्त्री ज्ञवालीले अध्यक्ष मुलुकका हिसाबले नेपालले बुद्धिस्ट सर्किटलाई पनि जोड दिने र सकेसम्म आकार दिने लक्ष्य राखिएको जानकारी दिए । कार्यक्रममा परराष्ट्र मामिलाका जानकारहरुले सम्मेलनलाई नेपालको फाइदा हुनेगरी सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित शिर्षकहरु