बाबुद्वारा १७ वर्षीय छोराको हत्या

भक्तपुर । भक्तपुरमा एक व्यक्तिले श्रीमतीको रिसमा छोराको हत्या गरेका छन्। मोरङको सुनवर्षा नगरपालिका–१ घर भई भक्तपुरकाे लोकन्थली सानोठिमीस्थित रमाइलो चोकमा डेरा गरी बस्ने  ४० वर्षीय डिल्लीराम चापागाईंले १७ वर्षीय छोरा सागर चापागाईंको मंगलबार मध्यराति हत्या गरेका हुन्।

प्रहरीका अनुसार स्थानीय शिवप्रसाद पौडेलको घरकाे दोस्रो तलामा सुतेका छोरालाई राति करिब १२ बजे धारिलो हतियारले हानेर हत्या गरेका हुन् । छोराको हत्या गरी पहिलो तलाबाट हाम फालेर भागेका उनी करिब आधा घण्टापछि प्रहरी प्रभाग कोटेश्वरको सम्पर्कमा आएका थिए।

अहिले उनलाई प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखी घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। भक्तपुर प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठले घरायसी विवादमा उनले छाेराकाे हत्या गरेकाे प्रारम्भिक अनुसन्धानमा खुलेकाे बताए। ‘घरायसी झगडामा रिस पाेख्न छाेरालार्इ नै हतियार प्रहार गरेकाे देखिन्छ, अावेगमा भएकाे दुःखद घटना हाे,’ एसपी श्रेष्ठले भने।

सम्बन्धित शिर्षकहरु