संसदीय सुनुवाई विशेष समिति सभापतिको जिम्मेवारी योगेश भट्टराईलाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय सुनुवाई विशेष समितिको सभापतिको जिम्मेवारी योगेश भट्टराईले सम्हाल्ने भएका छन् । संघीय संसदको महत्वपूर्ण मानिने संसदीय सुनुवाई विशेष समितिको सभापतिको जिम्मेवारी भट्टराईलाई दिने विषयमा छलफल भइरहेको नेकपा स्रोतले जानकारी दिएको छ ।

संवैधानिक अङ्गका पदाधिकारी र राजदूतहरुको नियुक्तिका सन्दर्भमा संसदीय सुनुवाई समितिको निर्णायक भूमिका हुनेगर्छ । नेकपाले युवा नेता भट्टराईलाई सुनुवाई समितिको सभापति बनाउन खोज्नुको अर्थ समितिको प्रभावकारिता बढाउनु रहेको स्रोत बताउँछ ।

संसदीय सुनुवाई समिति गठन नहुँदा प्रधानन्यायाधीशकोसमेत नियुक्ति हुन सकेको छैन । संसद सचिवालयका एक अधिकारीकाअनुसार समितिमा नेकपाबाट योगेश भट्टराई, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापामगर, पार्वत गुरुङ, निरु पाल र शिवकुमार मण्डल सिफारिस भएका छन् । नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान र पुष्पा भुसाल सिफारिस भएका छन् । त्यस्तै संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ र राजपाबाट लक्ष्मणलाल कर्ण सुनुवाई समितिमा सिफारिस भएका छन् ।

राष्ट्रिय सभाबाट नेकपाका सुमन प्याकुरेल, कांग्रेसका जितेन्द्र देव र नन्दा चपाईको नाम पारित भइसकेको छ । समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र कानूनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ ।

सम्बन्धित शिर्षकहरु